काठमाडौँ - प्रि सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत टोटेनहम हट्सपरले बुधबार स्थानीय शिर्ष डिभिजन लिग, के लिगको अल स्टार टिमलाई ६-३ ले पराजित गरेको छ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा ह्यारी केन र ह्युङ मिन सनको आगमनपछि स्पर्सले लगातार गोल गरेको थियो। दुवै स्टार फरवार्डले २-२ गोल गरेका थिए। टोटेनहमका लागि अर्को गोल एरिक डाएरले गर्दा १ गोल आत्मघाती भएको थियो। कोरियाली टोलीका लागि गुए-सुन चो, लार्स भेल्द्विक र जुन अमानोले १-१ गोल गरेका थिए।
खेलको ३० औं मिनेटमा डाएरले पेनाल्टी क्षेत्र बाहिरबाट शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए। पहिलो हाफको इन्ज्युरी समयमा सुन चोले हेडर मार्फत स्कोर बराबरी गरे। दोस्रो हाफको सुरुवातमा केनको क्रसलाई क्लियर गर्ने धुनमा जिन-ह्योक किमले आफ्नै पोस्टमा गोल गरेका थिए। तर ५ मिनेट नबित्दै भेल्द्विकले पेनाल्टी क्षेत्र बाहिरबाट सहजै गोल गरे।
५४ औं मिनेटमा केनले दायाँ खुट्टाले गोल गर्दै स्पर्सलाई अघि बढाए। ६८ औं मिनेटमा सनले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे। तर अमानोको फ्रिकिक गोलले गोलअन्तर १ मा झर्यो। त्यसपछि केन र सनले १० मिनेटको अन्तरमा गोल गर्दै फराकिलो जित सुनिश्चित गरेका थिए।
टोटेनहमले प्रि-सिजनमा पहिलो मैत्रीपूर्ण खेल खेलेको हो। टोलीले अब कोरियामा नै सेभिल्लाको सामना गर्नेछ। यस सिजन च्याम्पियन्स लिग खेल्ने टोलीले हालसम्म ५ खेलाडी अनुबन्ध गरिसकेको छ।