पोखरा । नेपाल भ्रमणमा रहेको बङ्गलादेशको संस्कृति एवं पर्यटन सम्वद्ध टोलीले आज पोखराका विभिन्न पर्यटकीयस्थलको अवलोकन भ्रमण गरेको छ। नेपाल–बङ्गलादेश मैत्री सङ्घको निमन्त्रणामा नेपालमा आएको टोली बुधबार पोखरा आएको हो।
टोलीले पोखराको सराङकोटबाट सूर्योदय अवलोकन गर्नुका साथै पर्यटकीय क्षेत्र महेन्द्रगुफा र चमेरे गुफाको अवलोकन गरेको नेपाल–बङ्गलादेशमैत्री सङ्घका अध्यक्ष दीनदया रिजालले जानकारी दिए। टोलीमा भाषा, कला, संस्कृति, मानवअधिकार, पर्यटन, व्यापारलगायतका क्षेत्रमा क्रियाशील १२ जनाको सहभागिता रहेको बताउँदै उहाँले भ्रमणले दुवै देशबीचको सांस्कृतिक आदान–प्रदानका साथै पर्यटन एवं व्यापार प्रवद्र्धन हुने विश्वास व्यक्त गरे।
टोलीलाई आजै गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानले स्वागत गरेको थियो । प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्चीले टोलीको स्वागत गर्दै दुवै देशबीचको सांस्कृतिक एवं पर्यटकीय साझेदारी वृद्धि गर्नुपर्नेमा जोड दिए। कला संस्कृतिको आदान–प्रदानका लागि एकापसमा अन्तरदेशीय भ्रमण तथा अन्तक्र्रियालाई अघि बढाउनुपर्नेमा उनले जोड दिए। कोरोना कहरका कारण प्रभावित पर्यटकीय नगरी पोखराको प्रवद्र्धनमा पनि यो भ्रमण उपयोगी बन्ने विश्वास लिइएको छ।