काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने भएको हो ।
बैठकमा बजेट अधिवेशनको तयारी, संसद्मा आएका विधेयक, संसद्को अहिलेको अवस्था, गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने लगायत संसदका समसायिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले प्रतिनिधिसभामा विरोध गर्दै आएको छ ।
आज पनि संसद् बैठक बस्ने कार्यसूची रहेकोले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।कांग्रेसले गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै आएको छ ।