रोसोउ टि-२० मा लगातार दुई शतक हान्ने दोस्रो खेलाडी

काठमाडौँ - दक्षिण अफ्रिकाका शीर्षक्रमका ब्याटर राइली रोसोउ टि-२० आईमा लगातार २ शतक हान्ने दोस्रो खेलाडी बनेका छन्। रोसोउले आइसिसी टि-२० विश्वकपमा बंगलादेशविरुद्ध शतक हान्दै लगातार २ शतक हान्ने पहिलो टेस्ट टोलीको खेलाडी बन्ने कीर्तिमान पनि बनाएका छन्।

रोसोउले बंगलादेशविरुद्ध ५६ बलमा ७ चौका र ८ छक्कासहित १ सय ९ रनको सानदार शतकीय इनिङ खेलेका थिए। उनी दक्षिण अफ्रिकाबाट विश्वकपमा शतक हान्ने पहिलो खेलाडी हुन्।

उनले यसअघि गत अक्टोबर पहिलो साता भारतविरुद्ध १ सय रनको अविजित शतकीय इनिङ खेलेका थिए। विश्वकपमा जिम्बावेसँगको खेल वर्षाको कारण रद्ध हुँदा उनले ब्याटिङको अवसर पाएका थिएनन्। फ्रान्सका गुस्ताव म्याककिओन टि-२० आईमा लगातार २ शतक हान्ने पहिलो खेलाडी हुन्। गुस्तावले गत जुलाईमा स्वीजरल्यान्डविरुद्ध १ सय ९ र नर्वेविरुद्ध १ सय १ रनको शतकीय इनिङ खेल्दै दुर्लभ कीर्तिमान बनाएका थिए।

रोसोउको शतकमा दक्षिण अफ्रिकाले बंगलादेशलाई २ सय ६ रनको विशाल लक्ष्य दिएको छ। सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन बनायो। त्यस्तै ओपनर तथा विकेटकिपर क्विन्टन डि कक ३८ बलमा ७ चौका र ३ छक्कासहित ६३ रनमा आउट भएका थिए।

दोस्रो विकेटका लागि डि कक र रोसोउले १ सय ६३ रनको साझेदारी गरेका थिए। विश्वकप इतिहासमा यो दोस्रो उच्च साझेदारी हो। यसअघि टि-२० विश्वकपमा २०१० मा श्रीलंकाका कुमार संगाकारा र महेला जयवर्धनेले वेस्टइन्डिजविरुद्ध दोस्रो विकेटका लागि १ सय ६६ रनको साझेदारी गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×