काठमाडौँ - १३ वर्षपछि प्रदर्शन हुन लागेको यस वर्षकै बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार’को दोस्रो श्रृंखलाले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङको संकेत गरेको छ।
सोमबार मध्यान्हसम्म मुख्य मल्टिप्लेक्स चेनमा ‘अवतार: द वे अफ वाटर’को ५० प्रतिशत टिकट बिक्री भइसकेको छ। यसको अर्थ प्रदर्शन हुन ५ दिन बाँकी रहँदा पहिलो सप्ताहन्तमा टिकट अझै बिक्री हुने देखिन्छ।
हलले बुकिङ नभएर अग्रिम टिकट बिक्री खुलाएका हुन्। अंग्रेजी फिल्मले बढी कमाउने क्यूएफएक्सका प्रमुख मल्टिप्लेक्स हलमा आजभित्रै टिकट सोल्डआउट हुने ट्रेन्ड देखिएको छ। क्यूएफएक्सले थ्रीडीतर्फ ४७ शो र टुडीतर्फ १३ गरेर कुल ६० शो दिएको छ। फिल्मको लम्बाइ नै ३ घण्टा १० मिनेट भएकाले शो संख्यामा कमी देखिनु स्वाभाविक हो । यो फिल्मले हलको साढे तीन घण्टा समय होल्ड गर्ने भएको छ।
‘अवतार २’ले नेपाली बक्स अफिसमा एक करोड रुपैयाँ ग्रसभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ। ‘वर्ड अफ माउथ’ बलियो भएमा फिल्मको सप्ताहन्त ओपनिङ तीन करोड पार गर्ने प्रारम्भिक मूल्यांकन छ। नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो।
‘अवतार’ १७ डिसेम्बर २००९ मा नेपालमा रिलिज भएको थियो। त्यतिबेला अंग्रेजी फिल्म प्रदर्शन हुने जयनेपाल र कुमारी हल मात्र थिए। ‘अवतार’ रिलिजपछि मात्र बिग मुभिज र सिभिल मलका हल बनेका हुन्। त्यसपछि अन्य मल्टिप्लेक्स खुल्न थाले। मल्टिप्लेक्स निर्माण र कल्चरको ट्रेन्ड यही बिन्दुबाट नेपालमा सुरु भयो।
‘अवतार’ नेपालमा रिलिज हुने पहिलो थ्रीडी डायमेन्सनको फिल्म हो। तत्कालीन कुमारी हलमा दर्शकले यसलाई थ्रीडी चश्मा लगाएर हेरेका थिए। यसपछि विश्व फिल्ममा थ्रीडी फिल्मको बाढी नै आयो। ‘अवतार’ रिलिजपछि नेपाली फिल्म हल प्राविधिक रुपमा स्तरोन्नति भए। मल्टिप्लेक्स कल्चरको स्वाद बस्न थालेसँगै र थ्रीडी प्रविधि जडान गर्नुपर्ने बाध्यताले हललाई प्राविधिक पक्षमा स्तरोन्नति हुन दबाब थियो।