एजेन्सी । चीनले प्राकृतिक विपत्ति र कोभिड–१९ महामारीविरुद्ध नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । काठमाडौंमा बुधबारदेखि शुरु भएको नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले भूकम्पपछिको पुननिर्माणमा पनि चीन नेपालसँग उभिएको बताए।
कोभिडविरुद्ध चीनले थप ४० लाख डोज खोप सहायता गर्ने बताउँदै विदेशमन्त्री यीले महामारीविरुद्ध नेपाललाई सघाउन चीन अडिग रहेको बताए ।
नेपालले भूकम्पपछिको पुनर्निर्माणलाई सफलतापूर्वक सम्पन्न गर्न लागेकोमा पनि चिनियाँ विदेशमन्त्रीले बधाई व्यक्त गरे । चीनले नेपालसँग मिलेर साझा भविष्यको खोजी गर्न चाहेको उहाँको भनाइ थियो ।
नेपालसँगको मित्रतापूर्ण सम्बन्धमार्फत चीनले पुननिर्माणमा सघाउन पनि आतुर रहेको यीले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र चक्रपथ निर्माण परियोजना पनि सम्पन्न हुन लागेकोमा चिनियाँ विदेशमन्त्रीले हर्ष व्यक्त गरे।