‘पल्पसा क्याफे’ नाटकले कमायो सात दिनमै ५ लाख

काठमाडौं - मदन पुरस्कार विजेता उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ले आक्रामक कमाइ गरेको छ। कोरोना महामारीपछि नाटकघरमा दर्शकको घुइँचो देखिएको हो।सृष्टि श्रेष्ठ र विमल सुवेदीको प्रमुख भूमिका रहेको थिएटर भिलेजको नाटकले एक सातामै ५ लाख रुपैयाँ कमाएको छ। वैशाख ९ गतेदेखि मण्डला थिएटरमा नाटक मञ्चन भइरहेको छ।

दर्शकको घुइँचो बढेपछि आगामी शनिबारदेखि दैनिक दुई शो नाटक मञ्चन हुने भएको छ। टिकट शुल्क ३०० देखि ५०० रुपैयाँसम्म राखिएको छ। नाटकले प्रति शो ५५ हजार रुपैयाँ कमाएको जनाइएको छ।

महामारीले प्रभावित यो नाटकको चारपटक गरिएको रिहर्सलमा मात्र १८ लाख रुपैयाँ खर्च भइसकेको निर्देशक तथा अभिनेता विमल सुवेदीले जानकारी दिए। भिडियो र ध्वनिका उपकरण प्रयोग गर्दा लागत बढेको उनको भनाइ छ।

नाटक दैनिक हाउसफुल हुन थालेपछि कतिपय दर्शक नहेरिकन फर्कन समेत बाध्य भएका छन्। दर्शकको उच्च उपस्थिति भएपछि शो थप्न लागिएको सुवेदीले बताएका छन्।

पल्पसा क्याफे नाटकप्रति दर्शकीय आकर्षणलाई रंगमञ्च कोरोना महामारीपछि लयमा फर्किएको संकेतको रुपमा हेरिएको छ। ‘दर्शकको यो मायाले हामी भावविभोर पनि भएका छौं,’ सुवेदीले भने, ‘ कन्टेन्ट राम्रो भए दर्शक आउँछन् प्रमाण समेत हो यो।’

चर्चित उपन्यासमा आधारित भएकाले पनि दर्शकको आकर्षण बढेको हुनसक्ने सुवेदीको मूल्यांकन छ। नाटकले दशक लामो सशस्त्र द्वन्द्वको सेटिङमा जीवन बाँचिरहेको एक चित्रकारको कथा भन्छ। सशस्त्र युद्धमा सहभागी भएको साथीले युद्ध हेर्न लगेपछि चित्रकार रहेको दृश्य नामक पात्रले नजिकबाटै युद्ध देख्दाको भोगाइ नाटकमा प्रस्तुत छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×