होली पर्व : हराउँदै मौलिक संस्कृति

रामपुर - होली पर्वलाई खुसीयाली र पारस्परिक मित्रता बढाउने उत्सवका रुपमा मनाउने गरिन्छ। पारस्परिक मित्रता बढाउने, सामाजिक एकताको भावना बढाउन मनाइने भएतापनि अहिले भने होली पर्वको नाममा परम्रागत मौलिकपन, संस्कृति हराउँदै आधुनिकताको नाममा देखासिकी र वनावटीपन  बढेको गुनासो गरिएको छ। समय अनुसार होलीको महत्व बढेकोले आधुनिकतासँगै यसको मौलिकतालाई ख्याल गर्नुपर्ने आवाज पनि उठेको छ। 

यो पर्व कतिपय अवस्थामा मित्रताको ठाउँमा झै झगडाको कारण बनेको छ भने सामाजिक एकताको ठाउँमा अहङ्कारपन देखिएको छ। यसले होली पर्व मनाउने नाममा सामाजिक सद्भावमा पनि नराम्रो असर सिर्जना हुन थालेको छ। गाउँघरमा बढ्दो पश्चिमी आधुनिकताको प्रभावले फागुपूर्णिमा पर्वको परम्परागत महत्व, रौनकता हराउँदै जान थालेको गुनासो बढेको छ। 

आधुनिकताको बढ्दो प्रभाव र पाश्चात्य ढङ्गका रीतिरिवाज, संस्कृतिले नेपाली मौलिक संस्कृति होली पर्वको मौलिकता नै हराउन पुगेको छ। हिजोआज होली पर्व मनाउने निहुँमा समाजमा उच्छृङ्खलता बढ्दै गएको बताउछिन्, पाल्पा रामपुरका ज्येष्ठ महिला सदस्य सरस्वती डोटेल।  “होली मनाउने निहुँमा समाजमा तडकभडक बढेको छ, जथाभावी रुपमा ईच्छा विपरीत रङ्ग लगाउने, लोला हान्ने, अण्डा हान्ने जस्ता प्रवृत्ति समाजमा व्याप्त हुँदै गएको छ, संस्कृित मनाउने निहुँमा तडकभडक हुनुहुदैन, यस्ता विकृति गर्नेमाथि सम्बन्धित निकायले कारबाही गर्नुपर्छ”, उनले भनिन्। बाल्यकालमा सामाजिक कार्यका लागि संस्कृतिलाई निरन्तरता दिँदै होली खेल्ने गरेको उनले बताइन्।
 
उनि भन्छिन्, “पहिला होली खेलेर जम्मा गरेको चामल, पैसा गाउँमा उपचार गर्न नपाएका गरिब परिवार, विद्यालयमा कापी कलम किन्न नसक्ने, शिक्षण शुल्क बुझाउन नसक्नेलाई सहयोस्वरुप सबै मिलेर रङग रमाइलोसहित होली खेल्ने गरिन्थ्यो”, होली मनाउने शैली परिवर्तन भए पनि मूल्यमान्यता परिवर्तन नभएको सर्जक बादल घिमिरे बताउछन्। समयानुसार संस्कृतिमा केही परिवर्तन हुँदै गए पनि होलीको महत्व झन् बढ्दै गएको उनको भनाइ छ। 

“संस्कृति मनाउने क्रममा समयानुसार नयाँ नयाँ प्रविधि भित्रियो, त्यसैलाई अवलम्बन गरेर मनाउन थालियो, पुरानो मौलिकताको तुलनामा केही परिवर्तन भए पनि होलीको महत्व सहरबजारमा उत्तिकै बढ्दै गएको छ”, सर्जक घिमिरेले भने। खैजडीँ र मादलको तालमा ठट्यौली गीत गाउँदै होली खेल्ने गरे पनि अहिले भने यसरी खेल्ने चलन गाउँमा नभएको सर्जक घिमिरेले अनुभव सुनाए। होली खेल्ने क्रममा गाउँमा एकै घरमा दुई समूह भेट भएमा रातभर दोहोरीमा होली गाउने र नाच्ने, अन्तिममा जसले जित्यो, उसैले चामल पैसा लिएर जाने चलन पनि थियो। होली मनाउने क्रममा समाजमा विकृति विसङ्गति बढेको पाकापुस्ताको ठम्याइ छ भने युवापुस्ताले भने समयानुसार प्रविधिको भरपुर प्रयोग गरेर चाडपर्वलाई उत्सवका रुपमा मनाउनुपर्ने बताउँछन्। 
रङ्ग दलेर साथीभाइ, आफन्त, घरपरिवारसँग रमाइलो गरी अहिले भित्रिएका आधुनिक प्रविधिको सही सदुपयोग गर्दै मनाउनुपर्ने युवा दीपेन्द्र भट्टराईको भनाइ छ। पहिलेका होलीमा गाउँघरमा खैजडीँ, मादल बजाएर गीत गाएर नाच्ने चलन थियो। अहिले ठूला–ठूला साउण्ड सिस्टम, युट्युब, मेमोरीकार्डको माध्यमबाट नाच्ने चलन छ। यसले गर्दा पनि परम्परागत शैलीमा गाउँने र नाच्ने चलन गाउँघरमा हिजोआज देख्न पाइदैन। 

होली आउनु एक दुई दिन अगाडि नै खैजडी, मादल, झ्यालीलगायतका विभिन्न परम्परागत बाद्यबादनका तालमा होली गीत गाउने र नाच्ने गरेर यो पर्व मनाइने गरिन्थ्यो। अहिले भने गाउँघरमा मौलिक पारामा होली गीत गाउने र नाच्ने चलन हटिसकेको छ। रेकर्ड गरिएका क्यासेट गीत, मेमोरी, पेनडाईभलगायत विभिन्न प्रविधिको प्रयोग गरी रङग रमाइलोका लागि मात्र नाच्ने गरिन्छ।

यस पर्वलाई विशेष गरी सहरबजारमा साथीभाइ, आफन्तबीच रङग खेलेर धुमधामका साथ मनाइन्छ। परम्परागत संस्कृतिको महत्व, महिमाको प्रचारप्रसार नहुँदा पनि मौलिक संस्कृति धरापमा परेका छन्। होलीको दिन समूहमा वनभोज जाने चलन बढ्दै गएको छ। खानपान पनि खर्चिलो गरेर होली मनाउने देखासिकी उत्तिकै बढेको पाइन्छ । कतिपय ठाउँमा होली मनाउने क्रममा मादकपदार्थ सेवन गरेर होहल्ला गर्ने भेटिन्छन्। 
      
लोक संस्कृितको क्षेत्रमा रम्ने र रमाउनेलाई सम्बन्धित निकायले हौसला, उत्प्रेरणा दिने, कला सीपको प्रवद्र्धन गरेको खण्डमा मौलिक संस्कृतिको जगेर्ना गर्न सकिन्छ। नयाँ पुस्तालाई पनि मौलिक संस्कृतिको बारेमा खोज अनुसन्धानमा लाग्ने वातावरण सम्बन्धित स्थानीय तहले गर्न सक्यो भने मौलिक संस्कृतिको जगेर्ना गर्न सकिन्छ। 
              
यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ। होली रङ्गको चाड हो। होलीको दिन मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एक अर्कालाई रङ्गिन बनाउछन्। होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ। होली खेल्ने दिन भन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ। राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ।

 साना–साना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन्। युवायुवती गीत गाउँदै–नाच्दै होली खेल्छन्। होली पर्व घरपरिवार–साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुपूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका बालबालिका, युवायुवती तथा प्रौढहरुका समूह हातमा रङ र रङगीन झोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र हो–हल्ला गर्दै आपसी रिसइबीलाई विर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रुपमा लिइन्छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×