जर्मन फुटबल टिमका निर्देशक ओलिभर बिएरहोफले दिए राजीनामा

काठमाडौँ - कतारमा जारी फिफा विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएपछि जर्मनीको राष्ट्रिय फुटबल टिमका निर्देशक तथा एकेडेमीका निर्देशक ओलिभर बिएरहोफले राजीनामा दिएका छन्।

जर्मनी चाँडै विश्वकपबाट बाहिरिएपछि टिम छाड्ने बिएरहोफ पहिलो व्यक्ति हुन्। जर्मन फुटबल संघले सोमबार बिएरहोफले आफ्नो सम्झौता अन्त्य गर्न सहमति गरेको पुष्टी गरेको छ। उनको सम्झौता २०२४ को युरोसम्म रहे पनि विश्वकपमा खराब प्रदर्शनपछि सम्झौता चाँडै टुङ्गिएको हो।

जर्मनीले आगामी युरोकप आयोजना गर्दैछ। तर विश्वकपमा लगातार दोस्रो पटक समूह चरणबाटै बाहिरिएपछि टिमको निर्देशकमा धेरैको चासो छ। गत वर्षको युरोमा पनि जर्मनी दोस्रो चरणबाट बाहिरिएको थियो।

सन् २००४ मा पुरुष टिमको म्यानेजर बनेपछि बिएरहोफ १८ वर्षदेखि जर्मन पुटबल संघको व्यस्थानको भूमिकामा थिए। उनले सन् २०१८ मा सबै राष्ट्रिय टिम र एकेडेमीको भूमिका लिएका थिए। जर्मन फुटबल संघले बिएरहोफले उत्कृष्ट काम गरेको र २०१४ को विश्वकपमा सफलता हात पार्दा उनको भूमिका राम्रो रहेको जनाएको छ।

बिएरहोफले खेलाडीको रुपमान जर्मनीका लागि ७० खेल खेल्दै ३७ गोल गरेका थिए।

विश्वकपमा खराब प्रदर्शनपछि शुक्रबार घर फर्कने तयारीमा रहेका जर्मनी टिमका मुख्य प्रशिक्षक हान्सी फ्लिक र बिएरहोफसँग जर्मन फुटबल संघका अध्यक्ष बर्ड नोएनडफले विश्वकपको विश्लेषण र जर्मनीमा हुने युरो २०२४ सम्मका लागि सिफारिस चाहेका छन्।

प्रशिक्षकको रुपमा फ्लिक भविष्य भने अनिश्चित बनेको छ। बिएरहोफको स्थानमा कसलाई ल्याउने भन्ने विषयमा कमिटीमा छलफल हुने संघले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×