काठमाडौँ - राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटेको क्लाभिकल कलरबोन (ब्युटी बोन) को बी एन्ड बी अस्पतालमा सोमबार शल्यक्रिया गरिएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षणको क्रममा मैदानमा लडेपछि रेनुकाको ब्युटी बोन फ्याक्चर भएको थियो। महिला टिमकी फिजियोथेरापिस्ट आभास्ना राजभण्डारीले भनिन्, ‘डाक्टर अमित जोशीको नेतृत्वमा २ घण्टा लगाएर रेनुकाको शल्यक्रिया गरिएको छ। शल्यक्रिया सफल भयो।
यस्तो घटनामा सामान्यतः दुई सातापछि रिह्याबिलिटेसन सुरु गरिन्छ र सामान्य अवस्थामा फर्किन १२ साता जति लाग्न सक्छ। तर, खेलाडीमा चाँडै हुन सक्छ। उपचार पद्धति शरीरले कसरी लिन्छ भन्नेमा उनको मैदानमा पुनरागमन भर पर्नेछ।’
दशकयता राष्ट्रिय टिमको मिडफिल्डमा छाइरहेकी रेनुकाले महिला साफ च्याम्पियनसिप २०२२ गुमाउने सम्भावना बढेको छ। महिला साफको छैटौं संस्करण भदौ १३ देखि २५ सम्म काठमाडौंमा आयोजना हुनेछ।