धादिङ । देशको राजधानीका विभिन्न कारागारबाट भागेका ३५ कैदीबन्दीलाई नेपाली सेनाले धादिङको गजुरीबाट नियन्त्रणमा लिएको छ। जेन–जी आन्दोलनको अवसरमा कारागारबाट भागेका कैदीबन्दीहरूलाई गजुरी चेकप्वाइन्टमा पक्राउ गरिएको हो। बुधबार तीन जनालाई गल्छीस्थित बैरेनीबाट नियन्त्रणमा लिइएको थियो।
आज नियन्त्रणमा लिइएका ३५ जनामध्ये केन्द्रीय कारागारबाट भागेका २१, नक्खु कारागारका ९, भीमफेदी कारागारका ४ र भद्र केन्द्रीय कारागारबाट भागेका १ जनालाई सेनाले नियन्त्रणमा लिएको छ। नेपाली सेनाले पृथ्वीराजमार्गका विभिन्न स्थानमा जाँच गरिरहेको छ र साना–ठूला सवारीसाधन तथा पैदल आवतजावत गर्ने सबैलाई सोधीखोजी गरिरहेको छ।
नेपाली सेनाले परिस्थितिजन्य अवस्था अनुसार कारागारबाट भागेका कैदीबन्दीलाई आत्मसमर्पण गर्न समेत आग्रह गरेको छ। आज नियन्त्रणमा लिइएका ३५ जनालाई गजुरीस्थित भैरबनाथ गणमा राखिएको छ र उनीहरूको व्यवस्थापनका लागि नेपाल प्रहरीसँग समन्वय भइरहेको छ।