काठमाडाैँ - ब्राजिलियन खेलाडी नेयमारले यस सिजनमा गरेको उत्कृष्ट प्रदर्शनको अहिले निकै चर्चा भइरहेको। पिएसजीमा लियोनेल मेसी र किलियन एम्बाप्पे जस्ता सुपरस्टार खेलाडीहरुसँग खेल्दै नेयमारले यस सिजनको शानदार शुरुवात गरेका हुन्।
नेयमारको यो प्रदर्शनलाई उनको करियरको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन भनिएको छ। पिएसजीले यस सिजनका शुरुवाती ३ खेलमा १७ गोल गर्दै तिनै खेल जितेको छ। पिएसजीले क्लेरमोन्टविरुद्ध ५-०, मोन्टपेल्लीएरविरुद्ध ५-२ र लिलेविरुद्ध ७-१ को जित निकालेको थियो।
जसमा पिएसजीका लागि नेयमारले ५ गोल गरेका छन्। त्यस्तै एम्बाप्पेले पछिल्लो खेलमा ह्याट्रिकसहित कुल ४ गोल गरेका छन् भने मेसीले ३ गोल गरेका छन्। पिएसजीको ‘एमएनएम’ समूहमा नेयमार सबैभन्दा बढी ब्यालेन्स खेलाडी देखिएका छन्।
पिएसजीका प्रशिक्षक क्रिस्टोफे गलटिएरले पनि यस कुरालाई जोड दिएका छन्। उनले लिलेविरुद्धको खेलपछि ३ जनामा नेयमार सबैभन्दा बढी ब्यालेन्स खेलाडी रहेको बताएका छन्। यस खेलमा नेयमारले २ गोल गरेका थिए भने ३ गोल असिस्ट गरेका थिए।
नेयमार यस सिजनमा पिएसजीका लागि धेरै गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। उनले ४ खेलमा ७ गोल गरेका छन्। लिग वानमा ३ खेलमा ५ गोल गरेका नेइमारले फ्रेन्च कपको फाइनलमा पिएसजीलाई उपाधि दिलाउनेक्रममा नेयमारले २ गोल गरेका थिए। त्यस्तै नेयमारले यस सिजनमा ६ गोल असिस्ट गरेका छन्।
सिजन शुरु हुनु अगाडी पिएसजीले नेयमारलाई बेच्ने तयारी गरेको रिपोर्ट बाहिर आएको थियो। तर नेयमारले भने पिएसजी छोड्न नचाहेको बताएका थिए। यसै हल्लाका बीच उनले आफ्नो सम्झौतामा रहेको अधिकार प्रयोग गरेर पिएसजीसँगको सम्झौता २ बर्ष थपेका थिए। अब उनको पिएसजीसँग सम्झौता २०२७ सम्म छ।