काठमाडौँ - पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतीय खेलाडीको अर्को एक कीर्तिमान ओझेलमा पारेका छन्। आजमले १० हजार रन छिटो पूरा गर्दै भारतीय पूर्वकप्तान विराट कोहलीको कीर्तिमान तोडेका हुन्। तीनै फरम्याटमा गरी बाबरले २ सय २८ इनिङबाट १० हजार रन पूरा गरेका छन्।
जबकी विराटले २ सय ३२ इनिङमा १० हजार रन पूरा गरेका थिए। त्यस्तै, पूर्वक्रिकेटर सुनील गावस्करले २ सय ४३ इनिङमा यो उपलब्धि हासिल गरेका थिए। यदि, विश्वभरिका क्रिकेटरको कुरा गर्ने हो भने यो उपलब्धिमा वेस्ट इन्डिजका महान ब्याटर भिभियन रिचर्डस्को नाम सबैभन्दा माथि आउँछ। उनले २ सय ६ इनिङमा १० हजार रन पूरा गरेका थिए। उनको समयमा टी२-० फरम्याट थिएन।
यस्तै, दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर हासिम अमलाले २ सय १७ इनिङमा, वेस्ट इन्डिजका दिग्गज ब्याटर ब्रायन लारा र हाल जमिरहेका इंग्ल्सि ब्याटर जोए रुटले २ सइ २२ इनिङमा १० हजार रन पूरा गरेका थिए। बाबर अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पुरा गर्ने ११ औं पाकिस्तानी ब्याटर हुन्।
उनी यस्तो गर्नेमा पाकिस्तानका सबैभन्दा छिटो ब्याटर समेत बनेका छन्। बाबरअघि पूर्व क्रिकेटरहरु जाभेद मियाँदादले २ सय ४८ इनिङ तथा सईद अनवरले २ सय ५५ इनिङमा १० हजार रन पुरा गरेका थिए। उनीहरुको तुलनामा बाबरले निकै छिटो १० हजार रन पुरा गरेका छन्।