काठमाडौँ - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाकाे चुनाव नलड्ने घोषणा गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूलाई सम्बोधन गर्दै डा. भट्टराईले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन्।
उनले साेमबार सामाजिक सञ्जालमार्फत आफू चुनावमा नलड्ने तर जनतामाझ रहेर समाजसेवा गरिरहने बताएका हुन्। साथै उनले ‘चुनाव नलड्नु राजनीति छाड्नु नभएको’ बताउँदै आफू सधैँ राजनीतिमा रहेको जानकारी गराएका छन्।
आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका र केही सुरूभएका आयोजना पूरा हुन बाँकी रहेका उनले बताएका छन्।
भट्टराईले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन। कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। ‘उनले भने,’तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो। म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।