दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

सुनसरीको कोसी गाउँपालिका– १ लौकहीस्थित खुनियाधारमा गएराति बस र ट्रक दुर्घटनामा मृत्यु भएका सबैजनाको सनाखत भएको छ। 

मृत्यु हुनेमा बसचालक झापा गोलधापका ४५ वर्षीय सरोज राई, बसको पछाडि सवार भारत पश्चिमबङ्गाल कालचिनी बस्ने २३ वर्षीय निहाल प्रधान र ट्रकचालक बारा निजगढ–९ का २७ वर्षीय शेख फिरोज रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। मृत्यु भएका सबैजनाको स्वास्थ्य परीक्षणपछि परिवारजनले शव बुझेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। दुर्घटनामा घाइते भएका २७ जनामध्ये १० जनाको उपचार भइरहेको छ भने अन्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। घाइते भएकामध्ये नौजनाको न्युरो अस्पताल विराटनगर र एकजनाको गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंको सिमेन्ट बोकेको ट्रक र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंको यात्रुवाहक बस एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनापछि बस र ट्रकमा अचानक आगलागी भएको थियो। दुर्घटनापछि भएको आगलागीका कारणले तीन जनाको जलेर मृत्यु भएको छ भने सवारीसाधन पूर्ण रुपले जलेर नष्ट भएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न स्थानीय तहबाट गएको बारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×