म्याग्दी - धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। स्थानीय तह चुनावमा धवलागिरिमा कांग्रेस–माओवादीले तालमेल गरेका थिए। गठबन्धनबाट अध्यक्षमा कांग्रेसका प्रेमप्रसाद पुनले तीन हजार १२३ र उपाध्यक्षमा माओवादीका रेशम पुनले दुई हजार ८१२ मत पाएर निर्वाचित भएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिए।
पुनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार थमसरा पुनले दुई हजार ५४८ प्राप्त गरिन्। उपाध्यक्षमा सोही पार्टीका प्रगति कार्कीले दुई हजार ६१८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सात वडा रहेको धवलागिरिमा कांग्रेसले तीन, एमालेले तीन र माओवादीले दुई वडामा अध्यक्ष जितेका छन्।
वडा नं १ मा गठबन्धनबाट माओवादीका झक छन्त्याल, २ मा एमालेका अकप्रसाद विक, ३ मा कांग्रेसका देवेन्द्र रोका, ४ मा एमालेका यामबहादुर घर्ती, ५ मा कांग्रेसका अमर छन्त्याल, ६ मा एमालेका राजाराम उपाध्याय र ७ मा माओवादीका अशोक खत्री निर्वाचित भएका छन्। दश हजार ९४० मतदाता रहेको धवलागिरिमा ६१ दशमलव १८ प्रतिशत अथवा छ हजार ६९४ मत खसेको थियो। ३७ पदका लागि ८४ प्रतिस्पर्धामा थिए।
जिल्लाको छ मध्ये चार स्थानीय तह र ३६ वडाको मतगणना सकिएको छ। मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा सोही पार्टीेका लक्ष्मीदेवी पुन घर्ती निर्वाचित भईन्। रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी भएकी छन्। मङ्गला गाउँपालिकाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा सोही पार्टीका प्रेमकुमारी अधिकारी निर्वाचित भएकी छन्।
मतपरिणाम सार्वजनिक भएका ३६ वडामध्ये एमालेले १६, कांग्रेसले १३ र माओवादीले छ वडामा जित हासिल गरेको छ। जिल्लाका दशा वडा, बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ।