काठमाडौँ - रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि बागलुङका तीन वटा स्थानीय तहमा ‘पशुमा पूर्ण खोप कार्यक्रम’ लागू गरिएको छ।
पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको बजेटमा यहाँका तीनवटा स्थानीय तहमा पूर्ण खोप कार्यक्रम लागू गरेको हो। गत वर्ष काठेखोला गाउँपालिकाबाट शुरु भएको पूर्ण खोप कार्यक्रम चालु आर्थिक वर्षमा जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र कोठेखोलामा लागू भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ। दश पालिकामध्ये काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका गाईभैसी, भेडा, बाख्रा, बङ्गुर र कुकुरलाई पूर्ण खोप दिन थालिएको हो।
स्थानीय तहका पशु शाखासँगको सहकार्यमा पशुमा पूर्ण खोप कार्यक्रम सुरु गरेको केन्द्रका प्राविधिक केशव प्रसाद शर्माले बताए। उनका अनुसार विज्ञ केन्द्रका प्राविधिक कर्मचारी कृषकका पशु फार्म तथा गोठमा पुगेर गाई, भैँसी, बाख्रा तथा भेडाको तथ्याङ्क सङ्कलन गर्ने र खोप लगाउन कार्य गर्ने छन्।