काठमाडौँ। म्यूजिक भिडियो हुँदै चलचित्र ‘लज्जा’बाट सिने जगतमा पाइला राखेकी अभिनेत्री शिल्पा पोखरेलले ‘मंगलम, वीरांगना, हवल्दार सुन्तली, बृन्दावन’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन्।
कोरोना महामारीअघि उनले चलचित्र ‘जय शम्भु’ बाट भोजपुरी सिने जगतमा पाइला राखिन् । जसले उनलाई भोजपुरी चलचित्रको द्वार खोलिदियो। हाल उनीसँग दुईवटा भोजपुरी चलचित्रको काम छ। सोनु खत्रीको निर्देशनमा बन्न लागेको भोजपुरी चलचित्र‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान की गली’ मा उनी अनुबन्धित भएकी हुन्।
दुवै चलचित्रमा उनले भोजपुरी सुपरस्टार दिनेश लाल यादव निरहुआसँग पर्दा शेयर गर्नेछिन्। चलचित्रमा भोजपुरी अभिनेत्री अम्रपालीको पनि अभिनय रहनेछ। शुक्रवार दुई चलचित्रको घोषणासँगै भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै शिल्पाले भनिन्, ‘म भोजपुरीमा एउटा मात्र फिल्म गर्नका लागि आएको होइन, म आफ्नो स्थान बनाउन चाहन्छु। हेरौं, किस्मतले कहाँसम्म लैजान्छ।’