बागलुङ । बागलुङ नगरपालिका–३ गुठीस्थित सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रको भवन शिलान्यास गरिएको छ । रु ३२ लाख २४ हजारको लागतमा बन्ने दुईतले भवनको सोमबार गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले शिलान्यास गरे।
त्यस अवसरमा बोल्दै मन्त्री श्रेष्ठले भवन बनेपछि केन्द्रको सेवा थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । उहाँले चालु आवमा मन्त्रालयले रु २० लाख बजेट छुट्याएको र भवन पूरा गर्न बजेट अपुग हुन नदिइने प्रतिबद्धता जनाए । मन्त्री श्रेष्ठले प्रहरी–नागरिक सहकार्य र साझेदारीबिना समाज सभ्य, सुसंस्कृत र उन्नत हुन नसक्ने उल्लेख गरे । “नागरिकलाई बिनाबर्दीका प्रहरी त्यसै भनिएको होइन, नागरिकको सहयोग नभई प्रहरी एक्लैले केही गर्न सक्दैन”, उनले भने ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले समाजमा शान्ति, अमनचयन कायम गराउन प्रहरीले समुदायसँग मिलेर काम गरिरहेको बताए । उनले सेवा केन्द्रमार्फत विकृति न्यूनीकरण, जनचेतना अभिवृद्धि, विपद्मा राहत वितरणलगायत काम भइरहेको बताए । सेवा केन्द्रका अध्यक्ष लीलादेवी खड्काले आउँदो पाँच महिनाभित्रैमा भवन निर्माण पूरा गर्ने लक्ष्य लिइएको बताउनुभयो । उनले दुईतले भवनको भुइँ तलामा सभाकक्ष र माथिल्लो तलामा कार्यालय रहने जानकारी दिए ।
भवन निर्माण अभियानमा राज्यका निकायबाहेक अन्य दाताहरूका पनि सहयोग लिइने सेवा केन्द्रले जनाएको छ । विसं २०६२ मा खुलेको सेवा केन्द्र सुरुताका भाडाको कोठा हुँदै पछिल्लो समय अस्थायी संरचनाबाट सञ्चालित थियो । भवन बनेपछि सेवा प्रवाह चुस्त हुनुका साथै सेवा केन्द्रको संस्थागत विकासमा टेवा पुग्ने विश्वास लिइएको अध्यक्ष खड्काले बताए । सो केन्द्रले चिप्लेटी बसपार्क नजिकै सामुदायिक उद्यान पनि निर्माण गरेको छ ।