बंगलादेशलाई हराएर पाकिस्तान सेमिफाइनलमा

काठमाडौँ - बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान आईसीसी टी-२० विश्वकपको सेमिफाइनल पुग्ने चौथो टिम बनेको छ। यसअघि भारत, न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन्।

आइतबारको पहिलो खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकामाथि अप्रत्यासित जित निकालेसँगै विश्वकप सुपर १२ अन्तर्गत समूह बीको समीकरण रोचक बनेको थियो। नेदरल्याण्डसँग हारेपछि दक्षिण अफ्रिका सेमिफाइनलको दौडबाट बाहिरियो भने भारत समूहको अन्तिम खेलअगावै सेमिफाइनलमा पुग्यो।

समूह ए बाट न्युजिल्याण्ड विजेता र इंग्ल्याण्ड उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्। समूह बीबाट भने विजेता टुंगिन बाँकी छ। भारतलाई समूह विजेता बन्न आइतबारै हुने खेलमा जिम्वाबेलाई हराउनुपर्नेछ। भारत पराजित भएको अवस्थामा पाकिस्तान समूह विजेता हुनेछ। सेमिफाइनलमा समूह ए को विजेता र बी को उपविजेता तथा समूह बी को विजेता र एको उपविजेताबीच प्रतिस्पर्धा हुनेछ।

सेमिफाइनलमा पुग्ने अर्को टोलीको टुंगो बंगलादेश र पाकिस्तानबीचको खेलले लगाएको हो। जित्नैपर्ने खेलमा बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल अगावै ५ विकेट गुमाएर भेट्टाएको हो।

पाकिस्तानका ओपनर कप्तान बाबर आजम र मोहम्मद रिजवानले ५७ रनको साझेदारी गर्दै जितको बलियो आधार खडा गरेका थिए। बाबर २५ र रिजवन ३२ रन बनाएर आउट भए। मोहम्मद ह्यारिसले १८ बलमा २ छक्का र १ चौकासहित ३१ रन बनाएर आउट भए। सान मसुदले अविजित २४ रन जोडे।

बलिङतर्फ बंगलादेशका नसुम अहमद, शकिब अल हसन, मुस्ताफिजुर रहमान र एबाडत हवसेनले समान १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेट गुमाएर १२७ रन बनाएको थियो। बंगलादेशका लागि ओपनर नाजमुल होसेन सान्तोले ४८ बलमा ७ चौका प्रहार गर्दै सर्वाधिक ५४ रन बनाएका थिए। अफिफ होसेनले अविजित २४ रन जोडे। सौम्य सरकारले २० रन बनाएका थिए।

बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिएका थिए। शदाब खानले २ विकेट लिए। हरिस राउफ र इफ्तिखर अहमदले समान १ विकेट लिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×