काठमाडौँ - करिब एक दशक लामो समयदेखि प्रतीक्षित रहेको हलिउड सुपरहिरो चलचित्र ‘अवतार २’को ट्रेलर सार्वजनिक भएको छ। ‘अवतार : द वे अफ वाटर’ नामसहित आउन लागेको सिक्वेलको पहिलो झलक २७ अप्रिलमा सार्वजनिक गरिएको थियो।
हालै सार्वजनिक भएको ट्रेलरमा पहिलोमा जस्तै पेन्डोरा ग्रहको सुन्दर दृश्य देख्न पाइन्छ। यसका साथै अति सुन्दर दृश्य र नयाँ पात्र अनि अझ धेरै उत्कृष्टरूपमा हेर्न सकिने दाबी छ। “यसपटक यहाँहरूले अझै सुन्दर दृष्य देख्न सक्नुहुन्छ, किनकि, यसपटक हामीले थ्रीडीका साथै हाई डायनामिक रेन्ज, हाई फ्रेम रेट, बृहत् रिजोलुसन र भिजुअल इफेक्ट्सको प्रयोग गरेका छौँ” निर्देशक जेम्स क्यामरनले बताए।
सार्वजनिक ट्रेलरमा सुनिने एउटा सवादमा भनिएको छ, “हामी जहाँ गए पनि, यो परिवार नै हाम्रो किल्ला हो।” वास्तवमा यो चलचित्रको कथा एउटा परिवारमा केन्द्रित छ।
चलचित्र डिसेम्बर १६ तारिखमा १ सय ६० वटा भाषामा रिलिज हुँदैछ।