मैले एक पैसा खाएको छैन, कुनै मन्त्रीलाई अनुचित निर्देशन दिइनँ: माधव नेपाल

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काभ्रेस्थित पतञ्जलि योगपीठ नेपाललाई हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णयमा आफूले कुनै भ्रष्टाचार नगरेको र कुनै मन्त्रीलाई अनुचित निर्देशन नदिएको दाबी गरेका छन्।

उनले त्यस्तो कुनै प्रमाण भए पेस गर्न चुनौती दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेपछि बिहीबार गृह जिल्ला रौतहटमा पहिलोपटक सार्वजनिक रूपमा बोल्दै उनले उक्त कुरा बताएका हुन्।

अध्यक्ष नेपालले आफूले एक पैसा पनि भ्रष्टाचारको निम्ति नलिएको र कसैबाट अनुचित लाभ नउठाएको दाबी गरे।

उनले राष्ट्रलाई नोक्सान पुग्ने कुनै पनि कामको आफू सधैं विरुद्धमा रहने दृढता व्यक्त गरे। अख्तियारको अभियोगपत्रमा मन्त्रीलाई निर्देशन दिएको भन्ने आरोपबारे उनले भने, ‘मैले कुनै पनि मन्त्रीलाई यस्तो अनुचित काम गर्न आजसम्म निर्देशन दिएको छैन। त्यो प्रमाण पेस गरियोस्।’ उनद दबाब दिने कुरा त परै जाओस्, निर्देशन समेत नदिएको जिकिर गरे।

पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा प्रकरणबारे थप स्पष्ट पार्दै अध्यक्ष नेपालले त्यस्ता संस्थाहरूमा स्वामी रामदेव र आचार्य बालकृष्णजस्ता व्यक्तित्वहरू संलग्न रहेको र नेपालमा योगको प्रचारप्रसार तथा आयुर्वेद औषधिहरूको उत्पादन होस् भन्ने सकारात्मक उद्देश्यले निर्णय लिइएको बताए। ‘असल नियतका साथ लाग्ने कुराहरुमा मेरो साथ, सहयोग, समर्थन रहन्छ। तर त्यो गर्दाखेरि पनि नियम, कानुन, विधिको सम्मान गर्नुपर्छ, पालन गर्नुपर्छ,’ उनले भने।

उनले थपे, ‘कुनै सरकारी जग्गा अनुचित रूपमा दिइएको छैन। यदि कुनै प्रक्रियागत त्रुटि भएको वा आवश्यकताले गर्दा हदबन्दीभन्दा माथिको जग्गाको विषय आएको भए पनि, र त्यो उचित छैन भने, ती जग्गाहरू सबै फिर्ता लिन सकिन्छ। त्यसको निम्ति कुनै अपराध गरेको, बद्मासी गरेको, नियत खराब भएको रूपमा लिनु हुँदैन।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×