काठमाडौँ - धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँ दिल्लीबाट संयुक्त रूपमा ‘फ्लाग अफ’ गरी यसको उद्घाटन गर्ने कार्यक्रम छ। नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु. ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरिएको थियो। खरिद गरिएको डेढवर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो। पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आएपनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको छ। यो रेल सेवा सुरु भएसँगै नेपालको रेल यातायाततर्फको अर्को यात्रा सुरु हुनेछ।
शनिबार रेल गाडीमा दुबै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ जाने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जिनीयर) अमन चित्रकारले जानकारी दिए। अन्तरदेशीय रेल सेवाका रूपमा सञ्चालन हुने रेलमार्गमा जकनकपुर आएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलगायतका व्यक्ति कुर्थासम्म जाने कार्यक्रम छ। उनी कुर्थासम्म पुगेर फर्किएर जनकपुर आउनेछन् भने रेल पुनः जयनगर जाने उनले जानकारी दिए। उनले भने, “रेलगाडीले स्वागत गरेर कुर्थासम्म जानेछ।”
शनिबार उद्घाटन भएपछि आइतबारदेखि नै तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए। उनका अनुसार दिनको दुईपटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ। जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्काै रेल छुट्ने उनले जानकारी दिए। उनले भने, “आइतबारबाट नै नियमित रूपमा रेल चलाउन हाम्रो तयारी पूरा भइसकेको छ।” भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि सरकारले दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) ल्याइएको थियो।
एउटा रेलमा एक हजार ३५० यात्रु यात्रा गर्न सक्ने महाप्रबन्धक झाले जानकारी दिए। यात्रुले आफ्नो साथमा साना झोला लैजान पाउनेछन्। तत्काल सञ्चालनमा आउन लागेको यात्रुबाहक रेलगाडी हुन्। अहिले सञ्चालन हुन लागेको कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण दुई वर्ष पहिले नै सकिएको थियो। हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ। कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ र त्यो सकिएपछि ५२ किमीमा रेल सञ्चालन हुनेछ।
कुर्थाबाट बिजुलपुरासम्मको निर्माण झण्डै सकिएको र अबको दुईचार महिनामा रेल सञ्चालन गर्न सकिने विभागका प्रवक्ता चित्रकारले जानकारी दिए। ३५ किमीमा आठ ठाउँमा रेल रोक्न सकिनेछ।