काठमाडौँ - ‘राई इज किङ’ नामले परिचित गायक राजेशपायल राईको उपस्थितिले बेलायतको अल्डरसटस्थित नेपालीद्वारा संचालित एम्पायर हल महामारीपछि सम्भवत: पहिलोपल्ट खचाखच भरियो।
किरात राई यायोक्खा (किराया) बेलायतले शनिबार आयोजना गरेको राईको एकल सांगीतिक साँझमा उनले पहिलोपटक बेलायतमा लाइभ ब्याण्डका साथ कन्सर्ट गरेका हुन्। कन्सर्टमा करिब ८ सय दर्शहरुको उपस्थिति रहेको आयोजकले जनाएका छन्।
गत जुलाईमा निर्धारित गरिएको उक्त सांगीतिक कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएका कारण दर्शकहरुले उनको लामो प्रतीक्षा गरेका थिए। दुईजना सुरक्षाकर्मीले राईलाई स्टेजतर्फ डोहोर्याउँदै गर्दा दर्शकहरुको भीडले उनलाई भव्य स्वागत गरेको थियो। राईको आगमनमा हलभित्र प्रतिक्षारत रहेका उनका मातापितासमेत उत्साहित बनेका थिए।
‘तपाईंहरुको सिटको बेल्ट बाँध्नुहोला,अब सांगीतिक यात्रा सुरु हुदैछ’ भन्दै ‘निष्ठुरीलाई मायाँ गरि...’ बोलको गीतबाट सांगीतिक पर्दा खोलेका राईले साँढे २ घन्टासम्म आफ्ना दर्जनौं गीतमार्फत दर्शकलाई नचाउँन सफल भए। दर्शन नमस्ते, म त मर्छु कि क्या हो, बैगुनी रेछौ जस्ता नयाँ पूराना विभिन्न खालका गीतले हल गुन्जायमान बनेको थियो।
गायक राईलाई बेलायतका वाद्यवादकहरु लिड गिटारमा सुरज गुरूङ, बेसमा होइसर तामाङ, किबोर्डमा थिर थापा, तवलामा महेश गुरूङ, बाँसुरीमा इन्द्र गुरूङ, ढोलकमा रेशम पाचे, ड्रममा प्रभास गुरूङ र रिदममा विकल थापाले सघाएका थिए।
कार्यक्राम्मा राईले सांगीतिक सौगातमात्र पस्केनन्, प्रवासमा रहंदा नेपाली कला, संस्कृति, गीत संगीतलाई निरन्तर माया गर्दै आफ्नो परम्परालाई नभुल्न सुझाव दिएका छन्। विभिन्न जातजाति र वर्गमा विभाजित हुने नेपालीहरुप्रति लक्षित गर्दै उनले सबै समूहलाई एकजुट हुन आग्रहसमेत गरेका छन्।
आयोजक संस्था किराया बेलायत अध्यक्ष चन्द्रबहादुर राईले बेलायतभर छरिएर रहेका हरेक जातका नेपालीलाई एकै थलोमा एकत्रित गरेको भन्दै यो सामाजिक सद्भावको एउटा उत्कृष्ट नमुना पनि रहेको बताएका छन्।
महासचिव चन्द्रवती राई एवं उपमहासचिव प्रमिला लाबुङ राईले सञ्चालन गरेको औपचारिक कार्यक्रममा अध्यक्ष राईले गायक र संगीतकर्मीहरुलाई स्वागत तथा सम्मान गरेका थिए।