‘छक्का पञ्जा ४’ हैन,अर्कै फिल्म बनाउन लागेको होः दिपाश्री

काठमाडौँ - निर्देशक हेमराज बीसीलाई लिएर ‘छक्का पञ्जा ४’ बनाउन लागेको खबरलाई दिपाश्री निरौलाले खण्डन गरेकी छिन्। उनले मंगलबार बेलुकीसम्म बन्न लागेको फिल्मको नाम सार्वजनिक गर्ने जानकारी गराएकी छिन्। 

सोमबार ‘छक्का पञ्जा ४’ का लागि दिपकराज गिरी र दिपाश्री निरौलाको टिमले हेमराज बीसीलाई लिएर फ्लोरमा जान लागेको समाचार आएका थिए। तर निर्देशक दिपाश्री निरौलाले आफूहरूले गर्न लागेको फिल्मको निर्देशक हेमराज बीसी भए पनि त्यो फिल्म ‘छक्का पञ्जा ४’ नभएको बताएकी छिन्।

उनले भनिन्,‘नाम हामी बेलुकीसम्म सार्वजनिक गर्छौैँ। तर यो ‘छक्का पञ्जा ४’ चाहिँ होइन।’ समाचारमा कतै कतै फिल्मको नाम ‘माग्ने राजा’ रहने दाबी रहेको छ। दिपाश्रीले यही नाम वा अर्को नाम भन्‍ने कुरा बेलुकीसम्म तय गर्ने बताएकी छिन्।

दिपक-दिपाको समूहले लामो समयदेखि ‘छक्का पञ्जा ४’ बनाउने बताउँदै आएको थियो। दिपाश्री निरौलाले छोटो समयमा यसको सुटिङ सम्भव नभएकाले अर्कै फिल्म गर्न लागेको बताएकी छिन्।

‘यसको क्यानभास अलि ठूलो भयो। तत्काल सुटिङ गर्न सम्भव नभए पछि यो थाँती राखेर नयाँ प्रोजेक्ट गर्न लागेका हौँ,’ उनले भनिन्। हेमराज बीसीले निर्देशन गर्ने यो फिल्ममा कलाकारको टोली भने ‘छक्का पञ्जा’कै हुनेछ। दिपाश्रीका अनुसार फिल्ममा अहिलेसम्म दिपक-दिपा, केदार घिमिरे र निर्मल शर्मा तय भएका छन्। केही दिनमै बाँकी कलाकार तय गरिने उनले बताएकी छिन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×