पाल्पा - आदिवासी जनजाति समन्वय समिति रामपुरले कलासंस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्न यहाँका मगर नेवार समुदायलाई मौलिक वाद्यवादन सामग्री सहयोग गरेको छ। समितिले रामपुर नगरपालिकाका १४ मगर समूहलाई एक/एक थान मादल र खैजडी चाप, नेवार समूहलाई ढोलक र झ्याली प्रदान गरेको हो।
सो अवसरमा समितिका अध्यक्ष ईश्वरी श्रेष्ठले पुर्ख्यौली पेसालाई निरन्तरता दिन वाद्यवादनका सामग्री समूहलाई उपलब्ध गराएको बताए। कला संस्कृति जोगाइ राख्नका लागि वडाले वाद्यवादनका सामग्रीमा आर्थिक सहयोग गरेको वडाध्यक्ष एकबहादुर नेपालीले जानकारी दिए। उनले भने, “पुराना रीतिरिवाजलाई जोगाउनु हामी सबैको दायित्व हो । वडाले हरेक वर्ष लक्षित वर्ग समूहलाई वजेट विनियोजन गर्दै आएको छ।”