झापा। एकपछि अर्को गर्दै आउने प्राकृतिक प्रकोपले किसानलाई सताउन थालेको छ। बेमौसमी असिनापानी, हावाहुरी आदिका कारण बालीनालीमा क्षति हुन थालेपछि कृषि पेशामै निर्भर रहने किसानको खुसी लुटिन थालेको छ।
छ महिनाअघि अर्थात् कात्तिकमा आएको मुसलधारे वर्षाका कारण धेरै किसानले धानखेतीमा ठूलो क्षति व्यहोरेका थिए। पाँक्नै लागेको धान खेतमै कुहिँदा र कनकाई, विरिङ, रतुवालगायतका खोलाले सयौँ बिघा पाकेको धानसहित खेत बगाउँदाको पीडा सेलाउन नपाउँदै किसानले मकैखेतीमा पनि क्षति व्यहोर्नुपरेको छ।
चैत अन्तिम साता आएको असिना पानीले जिल्लामा लगाएको सयौँ बिघा जमिनको मकै काम नलाग्ने अवस्थामा पुगेको किसानको भनाइ छ। झापा गाउँपालिकाका–४ का ६३ वर्षीय हजरत अली मियाँले चार बिघा जमिन भाडामा लिएर लगाएको मकै हावाहुरीसहितको असिना पानीले सबै सखाप पारेको बताए। “थाहा छैन अब के खाने साहुको ऋण कसरी तिर्ने”, उनले भने, “विपद् पनि गरिबलाई नै आइलाग्दो रहेछ।”
उनले विगत तीन वर्षअघिदेखि प्रतिबिघा वार्षिक ३२ मन धान वा मकै दिने शर्तमा चार बिघा जमिन भाडामा लिएर खेती गर्दै आएको बताए। साहुको ऋण काढेर प्रतिबिघा ६० हजार खर्च गरेर लगाएको मकै अब १० कठ्ठामा मात्र सीमित छ। उनले सुत्ला च्याप्दै गरेको मकै असिना पानीले सोत्तर पारेपछि गाईलाई घाँस पनि नहुने अवस्थामा पुगेको बताए।
सोही स्थानका किसान लाल मियाँको अवस्था पनि उस्तै छ। उनले पनि जग्गा भाडामा लिएर साहुकै ऋणमा सात बिघा जमिनमा लगाएको मकै सबै नष्ट भएको छ। “कसलाई सुनाउनु हाम्रो पीर व्यथा”, उनले भने, “सुन्ने र हेर्नबाहेक विपद्मा कोही हुँदोरहेनछ गरिबको साथी।” उनले हालसम्म धान वा मकैमा पुगेकै क्षतिपूर्तिस्वरुप कतैबाट पनि राहत नपाएको गुनासो गरे। महिनामा एक हजारको रु तीन ब्याज दिने शर्तमा साहुसँग पैसा लिएर खेती गर्दै आएको बताए।
झापा गाउँपालिका–३ का किसान लक्ष्मी उप्रेतीले घोगा लागेका, दाना पसेका मकैमा क्षति नपुगे पनि धानचमरा आउँदै गरेका र सुत्ला च्याप्दै गरेको मकैबालीमा ठूलो क्षति पुगेको बताइन्। उनले दाना लागिसकेका मकैको बोट दह्रो हुने हुँदा पनि सानोतिनो हावाहुण्डरीले नभाँच्ने जानकारी दिइन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा मकैजोन नै घोषणा गरेर खेती गरिएको छ। सरकारले मल बीउलगायतमा सहुलियत र कृषि उपकरणमा समेत अनुदान दिन थालेपछि मकैखेती जिल्लामा फस्टाएको थियो। कनकाई नगरपालिका, बाह्रदशी, झापा र कचनकवल गाउँपालिकालगायत ५०० हेक्टर क्षेत्रमा मकैजोनमार्फत खेती भइरहेको परियोजना कार्यालयका सूचना अधिकृत रवीन निरौलाले बताए। उनले हालसम्म हावाहुरीले नै मकैमा क्षति पुर्याएको बारेमा कार्यालयमा कुनै जानकारी नआएको बताए। जिल्लामा हाल करिब ४० हजार हेक्टर क्षेत्रमा मकैखेती हुँदै आएको छ। जिल्लामा मकैखेती मात्र होइन, हावाहुरी र पानीले लहरे तरकारी बालीमा पनि उत्तिनै क्षति पुर्याएको छ।