चितवन, १ असोज । लगातार वर्षासँगै खसेको पहिरोका कारण मंगलबार रातिदेखि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहान पुनः सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार, बिहान ६ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो। तीनवटा एक्साभेटर प्रयोग गरी करिब तीन घण्टापछि बिहान ९:१० बजे सडक खुलाउन सफल भएको हो।
सडक सुचारु भएसँगै रातिदेखि बाटोमै रोकिएका यात्रुवाहक र मालवाहक सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्। नारायणगढ–मुग्लिन सडकखण्ड काठमाडौं उपत्यका, पोखरा र तराईलाई जोड्ने देशकै महत्वपूर्ण व्यापारिक मार्ग हो।
यात्रा सुरु भए पनि वर्षा अझै जारी रहेकाले सतर्कताका साथ यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।