काठमाडौँ - दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनका फ्यानहरू हालै सडकमा पोस्टर र ब्यानर बोकेर फिल्म ‘पुष्पा २’ (पुष्पा द रुल) को जानकारीको माग गरिरहेका छन्।
भारतीय सञ्चार माध्याम अनुसार गत महिना अल्लुले ‘पुष्प २’ को छायांकन सुरु गरेको खबर आएको थियो। तर, त्यसपछि फिल्मबारे कुनै पनि जानकारी नआएपछि उनका फ्यान हातमा पोस्टर, ब्यानर बोकेर सडकमा फिल्मबारे नयाँ जानकारीको माग गरिरहेका छन्।
अहिले सामाजिक सञ्जालमा केही तस्वीर भाइरल भइरहेका छन्। जसमा फ्यानहरुले हातमा पोस्टर ब्यानर लिएर फिल्मको अपडेटको माग गरिरहेका छन्। भारतको कर्नाटक, महाराष्ट्र, केरला र यूएई जस्ता स्थानहरूमा, फ्यानहरू फिल्मको अपडेटको माग गर्दै सडकमा उत्रिएका छन्। ‘पुष्पा द राइज’को सफलता पछि पुष्पा २ को प्रतिक्षमा रहेका फ्यानहरू सडकमा उत्रिएका छन् र फिल्मको सिक्वेलको जनकारीको माग गरिरहेका छन्।
‘पुष्पा २’ सन् २०२३ मा रिलिज हुने अनुमान गरिएको छ। फिल्मको बजेट करिब ४ सय ५० करोड भारतीय रुपैयाँ रहेको बताइएको छ। ‘पुष्पा द राइज’ डिसेम्बर २०२१ मा रिलिज भएको थियो। जुन बक्स अफिसमा ब्लकबस्टर साबित भएको थियो। फिल्मले विश्वभर ३ सय ५० करोड भारतीय रुपैयाँको कलेक्सन गरेको थियो।
यो फिल्म मूल रूपमा तेलुगुमा छायांकन गरिएको थियो र पछि हिन्दी लगायत अन्य भाषाहरूमा डब गरिएको थियो। सुकुमारद्वारा निर्देशित यस फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्डन्ना मुख्य भूमिकामा रहेका छन्।