काठमाडौँ - घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय सिरिज पाकिस्तानले ‘क्लिन स्विप’ गरेको छ। गएराति सम्पन्न तेस्रो एकदिवसीयमा ९ रनले विजयी भएसँगै उसले ३ खेलको सिरिज ३-० ले ‘क्ल्नि स्विप’ गरेको हो।
नेदरल्याण्ड्सले भने ‘क्लिन स्विप’ बाट जोगिने मौका गुमायो। तेस्रो खेलमा २०७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा १९७ रन बनाएको थियो।
उसका लागि टम कूपरले १०५ बलमा ४ चौकासहित सर्वाधिक ६२ रन बनाएका थिए। ओपनर विक्रमजित सिंहले ८५ बलमा ७ चौकासहित ५० रनको योगदान दिएका थिए। तेजा निदामनुरुले २४ र मुसा अहमदले ११ रन जोडेका थिए।
पाकिस्तानका नसीम शाहले ५ विकेट लिए। उनले एकदिवसीय अन्तर्राष्ट्रिय करिअरमा पहिलोपटक ५ विकेट लिएका हुन्। मोहम्मद वसीम जुनियरले ४ विकेट लिएका थिए।
त्यसअघि रोटरडमस्थित हेजेलारवेग मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २०६ रन बनाएको थियो। उसका लागि कप्तान बाबर आजमले १२५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ९१ रनको योगदान दिएका थिए।
मोहम्मद नवाजले २७, फखर जमानले २६, अघा सलमान अलीले २४ र मोहम्मद वसीम जुनियरले ११ रन जोडेका थिए। नेदरल्याण्ड्सका लागि बास डी लीडेले ३, भिभियन किङ्गमाले २ तथा आर्यन दत्त, शरिज अहमद र लोगन भान बीकले १/१ विकेट लिएका थिए।
सिरिजको पहिलो खेलमा पाकिस्तान १६ रन र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो।