काठमाडौँ - पश्चिम दाङका एकजना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–२ निवासी ८० वर्षीय एक पुरुष रहेका छन्। गत माघ १६ गते पिसिआर परीक्षण गर्दा उनलाई सङ्क्रमण भएको पुष्टि भएपछि बाँकेमा उपचारको लागि लगिएको थियो। उनको गए राति १२ बजे उपचारका क्रममा मृत्यु भएको बाँकेका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिएका हुन्। यसैबीच, पछिल्लो २४ घण्टामा जिल्लामा ६४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ। २५० जनाको एन्टिजेन परीक्षण गर्दा ५९ र १० जनाको पीसिआर परीक्षण गर्दा पाँच गरी ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ।
हाल जिल्लामा सक्रिय सङक्रमितको सङ्ख्या ३५४ रहेको र तीमध्ये ३४६ जना होम आइसोलेसनमा र आठ जनाको तुलसीपुर र घोराहीका कोभिड अस्पतालको सघन उपचार केन्द्रमा राखेर उपचार भइरहेको आपतकालीन केन्द्रले जनाएको छ।