रैथाने बाली जोगाउन ‘बिज बैंक’

बागलुङ - बागलुङको बरेङ गाउँपालिकाले रैथाने बालीको बीउबिजन संरक्षण अभियान थाल्ने भएको छ। रैथाने बाली लोप हुँदै गइरहेकाले गाउँपालिकाले ‘हाम्रो बीउ, हराउन नदिउ’ अभियान थाल्ने भएको हो।

बीउको संरक्षणका लागि गाउँपालिकाले प्रोत्साहन र सचेतनाका कार्यक्रम सञ्चालन गर्ने भएको छ। अभियान हरेक वडामा सञ्चालन गरेर बीउ जोगाउन बिज बैंक स्थापना गरिने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।

व्यावसायिक उत्पादनका लागि आधुनिक प्रविधि र आधुनिक बीउबिजनका साथै रैथाने बालीको संरक्षण गर्ने दायित्व गाउँपालिकाको भएकाले बिज बैंक स्थापना गरेर संरक्षणको अभियान थालिने उनले बताए। “हामीले अहिले कसरी जीवनयापन गरिरहेका छौँ, विगतमा के खान्थ्यौँ, हाम्रो खेतबारीमा के फल्थ्यो भन्ने भावी पुस्तालाई जानकारी दिन आवश्यक छ”, शर्माले भने, “बीउ जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो।”

‘बरेङमा समृद्धि, कृषि लगानी वृद्धि’को मूल मर्मलाई आत्मसात गर्दै आर्थिक विकास र समृद्धिको प्रमुख आधारस्तम्भका रूपमा कृषि क्षेत्रलाई विकास गर्ने लक्ष्य रहेको नीति तथा कार्यक्रममा उल्लेख छ। कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्न र पुरानो जोगाउँदै नयाँ बीउमार्फत व्यावसायिक बन्न योजना अघि बढाइएको हो।

बिज बैंकमा रैथाने जातका खाद्यान्न बाली तथा तरकारी र फलफूलको समेत संरक्षण गरिने गाउँपालिकाले जनाएको छ। पाँचवटै वडामा सञ्चालनमा रहेका विभिन्न कृषि पकेट क्षेत्रलाई थप व्यवस्थित गर्ने योजना गाउँपालिकाको छ। बाँझो जमिनको उपयोग गरेर पनि रैथाने बालीको संरक्षण गर्न सकिने अध्यक्ष शर्माले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×