काठमाडौँ - नेपालका लागि मोरिससका नवनियुक्त राजदूत शान्ति वाइ हनुमानजी नेपाल भ्रमणमा रहेका छन्। राजदूत हनुमानजीको नेतृत्वमा छ जनाको प्रमण्डल छ दिने भ्रमणका लागि यसै साता नेपाल आएका हुन्। टोलीले आज महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्ने छ भने भ्रमणका अवसरमा पोखरा र अन्नपूर्ण हिमालको दृष्यावलोकन गरेको छ।
टोलीलाई नेपाल–मोरिसस बिजनेस काउन्सिलले सोमबार एक कार्यक्रमबीच स्वागत गरेको छ। सो अवसरमा राजदूत हनुमानजीले मोरिससमा नेपालीका लागि व्यापारिक अवसरबारे उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्नेमा जोड दिए। काउन्सिलका अध्यक्ष बटु लामिछानेले दुई देशबीचको व्यापारिक सम्बन्ध वृद्धि र पर्यटन प्रवर्द्धन अवसरका रूपमा यसलाई लिनुपर्ने बताए। नेपालका लागि मोरिससका महावाणिज्यदूत गणेश कार्कीले दुई देशबीचको सम्बन्ध प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको काउन्सिलका महासचिव सुदीपराज गौतमले जानकारी दिए।
भारतको नयाँ दिल्लीस्थित आवासीय राजदूत हनुमानजीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि राजदूत नियुक्तिको आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै छन्।