सहिद धर्मभक्त माथेमाको सम्झना

काठमाडौँ । सहिद सप्ताहको चौथो दिन आज सहिद धर्मभक्त माथेमाको शालिकमा माल्यापर्ण गरी सम्झना गरिएको छ। 

प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गरेको स्थलमा रहेको शालिकमा आज पुष्पगुच्छा अर्पण गरी उनलाई स्मरण गरिएको छ। माथेमा जन्मिनुभएको ठाउँ काठमाडौँको ओमबहाल र अमरत्व प्राप्त गरेको ठाउँ सिफल उकालोमा महानगरले माथेमाको पूर्णकदको शालिक प्रतिस्थापन गरिसकेको छ। आज उनको उक्त शालिकमा नै माल्यापर्ण गरेर स्मरण गरिएको हो। 

कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, वडा ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल तथा वडा सदस्य र सीमित कर्मचारी सहभागी भएर शालिकमा पुष्पगुच्छा अर्पण गरिएको हो। कोरोना महामारी भएकाले यस वर्ष सहिद सप्ताहका कार्यक्रम सीमित व्यक्तिका बीच आयोजना भइरहेका छन्। विसं १९६६ असोज १ गते काठमाडौँको ओमबहालमा जन्मनुभएका माथेमालाई तत्कालीन शासकको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई विसं १९९७ माघ १३ गते काठमाडौँको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो।

काठमाडौँ महानगरले सहिद माथेमाको सम्मानमा ‘धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ निर्माण गर्दैछ। नागार्जुन नगरपालिकाले उपलब्ध गराउने वडा नं ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको करिब १८ रोपनी जग्गामा आश्रम निर्माण हुनेछ । यसका लागि महानगरपालिकाले नगरपालिकालाई विस्तृत परियोजना प्रतिवेदन बुझाइसकेको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×