काठमाडौँ - ब्राजिलले महिला कोपा अमेरिका (फेमेनिना) को उपाधि जितेको छ। उसले आज बिहान सम्पन्न खेलमा आयोजक कोलम्बियालाई १-० ले हराउँदै उपाधि जितेको हो।
स्टेडियो अलफन्सो लोपेजमा डेविन्हाले खेलमा ३९ औं मिनेटमा पेनाल्टीमार्फत गरेको १ मात्र गोल ब्राजिललाई जित दिलाउन पर्याप्त बन्यो। ब्राजिलका लागि यो लगातार चौथो तथा समग्रमा आठौं कोपा अमेरिका उपाधि हो।
अपराजित रहँदै विजेता बनेको उसले प्रतियोगिता भर कूल २० गोल गर्दा १ गोल पनि व्यहोरेन।
उसले प्रतियोगिताका ९ वटै फाइनल खेल्दा एउटामा मात्र पराजय व्यहोरेको छ। ब्राजिल सन् २००६ मा अर्जेन्टिनासँगपछि पर्दै उपविजेता बनेको थियो।तेस्रोपटक फाइनल पुगेको कोलम्बियाको पहिलो उपाधि जित्ने अभियानमा ब्राजिल बाधक बनेको हो। उसले यसअघिका २ फाइनलमा पनि ब्राजिलसँगै हार व्यहोरेको थियो।
त्यसअघि शनिबार पाराग्वेलाई ३-१ ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गर्यो। अर्जेन्टिनाकी यमिला रोड्रिगेज ६ गोलसहित सर्वाधिक गोलकर्ता बनिन्। कोलम्बियाको लिन्डा काइसेडो सर्वोत्कृष्ट खेलाडी चुनिइन्।
८ जुलाईबाट सुरु भएको कोपा अमेरिका फेमेनिनामा कन्वेवल क्षेत्रका १० टोलीले सहभागिता जनाएका थिए।