काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद आरजु राणाले सरकारले आलु–प्याजमा लगाएको भ्याट हटाएपछि नेपाली आलुले मूल्य नपाउने बताएकी छिन् ।
संसदको कृषि समितिकी सभापतिसमेत रहेकी राणाले प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै यस्तो बताएकी हुन् । ‘नेपालमा ७ प्रतिशत आलु आयात हुने रहेछ तर त्यसले नेपाली आलुको भाउ निर्धारण गर्ने रहे छ । त्यसैले गत वर्ष भ्याट लगाउँदा नेपाली आलुले मूल्य पायो । दुई हजार मेट्रिक टन आलुको उत्पादन पनि बढेको रहेछ’, उनले भनिन्, ‘यो वर्ष भ्याट हटाउँदा नेपाली आलुले भाउ नपाउने अवस्था हुन्छ ।’
उनले सरकारले कृषि लगानी दशक घोषणा गरे पनि झण्डै २ अर्ब बजेट घटाउनुले कार्यक्रम कार्यान्वयनमा विश्वास गर्न नसकिने बताइन् । उनले १० लाख हेक्टर जमिन बाँझो रहेको र त्यसको उपयोगितामा काम गर्नुपर्नेमा जोड दिइन् । उखु र दूध किसानले पैसा नपाउने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै उनले भनिन्, ‘बैंकमा सहुलियत दरमा डेरी र मिलहरूले रकम राख्ने र पेमेन्ट भौचरका आधारमा तुरुन्त पैसा पाउने व्यवस्था मिलाउँदा किसान र सरकार दुवैलाई राहत हुन्छ ।’