काठमाडौँ - अर्जेन्टिनाका पूर्व फुटबलर कार्लोस टेभेज खेलाडी जीवनबाट सन्यास लिएको १७ दिनपछि नै प्रशिक्षक नियुक्त भएका छन्। जुन २ मा ३८ वर्षीय टेभेजले व्यवसायिक फुटबलबाट सन्यास घोषणा गरेका थिए। १७ दिनपछि अर्जेन्टिनाको शीर्ष श्रेणी प्रिमियर डिभिजन खेल्ने क्लब रोसारियो सेन्ट्रलले उनलाई प्रशिक्षक नियुक्त गरेको छ।
क्लबले उनलाई १२ महिनाको लागि नियुक्त गरेको हो। टेभेजको लागि प्रशिक्षकको रुपमा यो पहिलो अनुभव हुनेछ। ‘मैले खेल्न छाडेँ किनकी मैले मेरो नम्वर एक समर्थक मेरो बुबा गुमाएँ। म एकदिन उठेपछि भने म अब खेल्दिन। मैले मेरो एजेन्टलाई बोलाएर यसबारे भने।’ टेभेजले आफ्नो सन्यास बारे भनेका थिए।
रोसारियोले टेभेजलाई क्लबमा स्वागत गरिसकेको छ। म्यानचेष्टर युनाइटेड, म्यानचेष्टर सिटी र युभेन्टस जस्ता चर्चित क्लबबाट खेलेका टेभेज २०१५ मा अर्जेन्टिना फर्केका थिए।
त्यसपछि चाइनिज क्लब सांघाई सेरन्हुवा पुगेका टेभेज २०१८ मा बोका जुनियरमै फर्किए र यसै जुनको पहिलो साता सन्यास घोषणा गरेका थिए। प्रशिक्षकको रुपमा टेभेजको पहिलो खेल प्रिमियर डिभिजन अन्तर्गत क्लब जिम्नासिया इस्ग्रिमासँग २४ जुलाईमा हुनेछ। चार चरणको खेलपछि रोसारियो सेन्ट्रल २८ टिम मध्ये ४ अंक जोडेर२२ औं स्थानमा रहेको छ।