काठमाडौँ - पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनसिप २०२२ को ‘फल इडिसन’ मा नेपाली टिम डीआरएस गेमिङ दोस्रो भएको छ भने स्काइलाइट गेमिङले तेस्रो स्थान हािसल गरेको छ। उत्कृष्ट प्रदर्शनसँगै नेपालका तीन टिम (डीआरएस, स्काइलाइट र ट्रेन्ड टु किल) ग्लोबल च्याम्पियनसिपमा छनोट भएका छन्।
कुल १ लाख ५० हजार अमेरिकी डलर पुरस्करको ४ दिन चलेको च्याम्पियनसिपमा मंगोलियाको गडलाइट स्टलवार्टले सर्वाधिक २ सय ६४ अंक जोड्दै उपाधि जित्यो। पब्जीको दक्षिण एसियाली क्षेत्रको सबभन्दा महत्त्वपूर्ण प्रतियोगितामा डीआरएसलाई गडलाइटले कडा चुनौती दियो।
एसियाली खेलकुदको प्रारम्भिक चरणको छनोट जितेको टिम डीआरएसले सुरुआतमा अग्रता लिएको थियो। तर, उसले गडलाइटको आक्रामक खेललाई पन्छाउन सकेन । त्यसैले डीआरएस उपविजेतामै रोकियो। उसले २ सय ५६ अंक बनायो। स्काइलाइट २ सय ३१ अंकसहित तेस्रो स्थानमा रह्यो। पाकिस्तानको एजीएक्सआईएट (२ सय २९ अंक) चौथो र नेपाली टिम ट्रेन्ड टु किल (२ सय २० अंक) पाँचौं स्थानमा रहे।
छनोट चरण पार गरेका १६ टिमले प्रतिस्पर्धा गरेको च्याम्पियनसिपमा नेपाल र पाकिस्तानका ६-६ टिम थिए भने मंगोलियाका ४ टिम सहभागी थिए। नेपालका हाई भोल्टेज (२ सय ६ अंक) सातौं भयो। इलेमेन्ट्रिक्स (१ सय २२ अंक) १२ औं र भेनम लिजेन्ड्स (१ सय १० अंक) १५ औं स्थानमा रहे। नेपाल ई-स्पोर्ट्स संघ (नेसा) ले नेपाली टिमका खेललाई छाया सेन्टरस्थित क्यूएफएक्समा प्रदर्शन गरेको थियो। डीआरएसले २८ हजार डलर (करिब ३६ लाख रुपैयाँ), स्काइलाइटले १८ हजार (रु.२३ लाख), ट्रेन्ड टु किलले ७ हजार डलर, हाइ भोल्टेजले ५ हजार ५ सय, इलेमेन्ट्रिक्सले ४ हजार र भेनम लिजेन्ड्सले ३ हजार डलर प्राप्त गरेका छन्। उपाधि विजेता गडलाइटले ४० हजार डलर हात पार्यो।
क्षेत्रीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेसँगै डीआरएस, स्काइलाइट र ट्रेन्ड टु किल पब्जी मोइबाल ग्लोबल च्याम्पियनसिप २०२२ मा छनोट भएका छन्। कुल ४० लाख डलर पुरस्कारको ग्लोबल च्याम्पियनसिप २०२२ नोभेम्बर १० देखि २०२३ जनवरी ८ सम्म हुनेछ, जहाँ विश्वका विभिन्न क्षेत्रबाट छनोट भएका ४८ टिमले जाकार्ता र क्वालालम्पुरमा प्रतिस्पर्धा गर्नेछन्।