काठमाडौँ - मधेस प्रदेशको मैत्रीपूर्ण तीन दिने सद्भावना भ्रमणमा रहनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मिथिला सभ्यता र संस्कृति अनुपम र गौरवपूर्ण भएको बताएका छन्।
भ्रमणको दोस्रो दिन आज आइतबार महोत्तरीको बर्दिबास पुगेका पोखरेलले भ्रमणको अनुभव साट्दै मधेस धार्मिक पर्यटनको केन्द्र रहेको बताएका छन्। मुख्यमन्त्री पोखरेल नेपाल होटल पर्यटन व्यवसायी सङ्घ, बर्दिबासका उद्यमी व्यवसायी र सञ्चारकर्मीसँग परिचयात्मक कार्यक्रममा सहभागी थिए। “मैले मधेश प्रदेशका प्राचीन मिथिलाका धार्मिकस्थलको नजिकबाट अवलोकन गरेँ”, उनले भने, “यहाँ धार्मिक पर्यटन विकासको प्रचुर सम्भावना रहेछ।” जनकपुरधामका जानकी मन्दिर, राममन्दिर, मणिमण्डप, जनकमन्दिर र धनुषाधामको अवलोकन गरेका मुख्यमन्त्री पोखरेलले शनिबार जनकपुरदेखि कुर्थासम्म रेलयात्रा गरेको रमाइलो अनुभव सुनाए।
संसारका सबै ठाउँमा अतिथि सत्कारको परम्परा भए पनि मिथिलाको भने विशिष्ट रहेको उनको भनाइ छ।