काठमाडौँ - नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक आयोजना गर्ने भनिएको फ्रेन्चाइज नेपाल टी-२० लिग क्रिकेट डिसेम्बरसम्मलाई सरेपछि नयाँ विकल्पको रुपमा प्रतियोगिता अघि ल्याएको छ।
विगतमा पुस/माघमा राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता कार्तिकमै आयोजना गर्न लागिएको हो। बजेटको तेस्रो तथा चौथो चौमासिकमा खर्च गर्ने गरि व्यवस्था गरिएको प्रतियोगिता यो पटक भने दोस्रो चौमासिकमा सारिएको हो।
असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ। यो प्रतियोगिता र विगतमा गर्ने भनिएको नेपाल टी-२० लिगको समय जुधेकाले भदौ २३ गतेदेखि नै नवौं अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न भइसकेको छ।
लगातारको वर्षाले प्रभावित भएको खेलमा बल्ल तल्ल स्वर्ण पदकको छिनोफानो भएको हो। जसमा नेपाल पुलिस क्लबले स्वर्ण पदक जितेको थियो। चुनावको कारण देखाउँदै गृहमन्त्रालयले क्यानलाई पत्र लेखि प्रतियोगिता डिसेम्बरसम्म सार्न अनुुरोध गरेको थियो। फलस्वरुप क्यानले डिसेम्बर ११ देखि नेपाल टी-२० लिग आयोजना गर्ने गरि मिति पर सारिसकेकाले खेलाडीलाई व्यस्त राख्न पनि प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता कार्तिकमा गर्न लागिएको हो।
क्यानले कार्तिक १२ गतेदेखि प्रधानमन्त्री कप आयोजना गर्ने गरि जिल्ला र प्रदेशलाई पत्राचार गरेको छ। जस अनुसार जिल्लाको टिम छनोट असोज २० गतेसम्म गरिसक्न अनुरोध गरिएको छ भने प्रादेशिक छनोट कार्तिक ६ गतेसम्म पूरा गर्नुपर्ने मिति दिइएको छ। राष्ट्रिय प्रतियोगिता भने कार्तिक १२ गतेदेखि २६ गतेसम्म काठमाडौंमा गर्ने तयारी गरेको छ। क्यानले जिल्ला र प्रदेश छनोटकालागि बजेट पनि व्यवस्था गरेको छ।
जिल्ला छनोटका लागि २० हजार र बलको लागि भन्दै थप ८ हजार ४ सय गरि २८ हजार २४ रुपैयाँ प्रदान गरेको छ। प्रादेशिक छनोटका लागि ६० हजार र प्रतिवल ७०० का दरले लाग्ने खर्च उपलव्ध गराउने छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा प्रदेशका ७ टिम र ३ वटा विभागीय नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ गरि १० टिमले सहभागिता जनाउने छन्।