काठमाडौँ - अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को मुख्य भूमिकामा अनुबन्धित भएका छन्। फिल्मको रेटिङ गर्ने विश्व चर्चित पोर्टल आईएमडीबीमा निर्माताले कार्कीको नाम पनि उल्लेख गरेका छन्।
रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना र बबी देओलसँगै विपिनको नाम पनि उल्लेख भएको छ। स्रोतका अनुसार फिल्ममा विपिनले हास्य चरित्रमा अभिनय गर्दैछन्। फिल्म छायांकनको पूर्वतयारीको लागि विपिन अर्को महिना मुम्बई जाने तयारी गर्दै छन्। अहिले भने निर्देशकसँग भर्चुअल कुराकानी भइरहेको उनले बताएका छन्।
चर्चित फिल्म ‘अर्जुन रेड्डी’का निर्देशक सन्दीप रेड्डीले निर्देशन गर्ने फिल्म सन् २०२३ मा रिलिज हुनेछ। आईएमडीबीमा उल्लेख भएअनुसार ग्याङस्टर कथा रहेको यो फिल्मका मुख्य पात्रबीचको द्वन्द्वात्मक सम्बन्धको कारण मुख्य पात्र (प्रोटागोनिस्ट)लाई जनावरको स्वभावमा परिणत हुन बाध्य हुने फिल्मको कथावस्तु छ।
गत वर्ष नै विपिनले ‘एनिमल’ मा काम गर्ने चर्चा चले पनि यसपटक भने निर्माताले आईएमडीबीमार्फत कास्टिङबारे पुष्टि गरेका हुन्।