इन्डक्सन चुलोले बदल्यो जीवनशैली

काठमाडौँ - इन्डक्सन चुलोले बजारमा बिक्री दर बढाइरहँदा प्रयोगकर्ताहरूको भने जीवनशैलीमा परिवर्तन आइरहेको पाइएको छ।

“विद्युतीय चुलोेको प्रयोग गर्ने बारेमा धेरैले चर्चा मात्रै गरे। हामीले काम गर्यौँ। यसबाट असाध्यै राम्रो प्रतिक्रिया पाएका छौँ। अहिले माग धान्नै गाह्रो भएको छ” काभ्रेपलाञ्चोक तेमालकी कल्पना लामाले बताइन्। तेमाललाई धुवाँमुक्त बनाउने र स्वच्छ चुलोको प्रयोग बढाउने उद्देश्यले गत वर्ष ६०० वटा विद्युतीय चुलोे वितरण गरेको सुनाउँदै लामाले यही चैत १० गते थप एक हजार विद्युतीय चुलो उपलब्ध गराउने तयारी गरिएको जानकारी दिएकी छन्। लामा तेमलालाई धुवाँमुक्त बनाउने अभियानका स्वयंसेवी हुन्। विद्युतीय चुलोले गृहिणीलाई धेरै राहत दिएको लामाको अनुभव छ। उनको मत छ,  ‘‘नाराले होइन कामले अभियान साकार पार्नुपर्छ।’’ मासिक रूपमा अधिकतम रु. ६४० बराबरको बिजुली मात्रै खर्च भएको आफ्नै अनुभव पनि छ उनको।

तेमालमा कूल पाँच हजार ५०० घरधुरी छन्। सबैले विद्युतीय चुलो प्रयोग गर्ने इच्छा व्यक्त गरेका छन्। सबैलाई क्रमैसँग आधुनिक ऊर्जाको पहुँचमा पुर्याउने सपना छ कल्पनाको। विद्युतीय चुलोेमा कुनै समस्या आए, त्यसको मर्मतसम्भारका लागि गाउँमै एक जनाले मर्मत केन्द्र खोलेका छन्। त्यसबाट रोजगारी पनि भएको छ। चुलो प्रयोग गर्ने तरिका देखाएपछि सबैले विश्वास गरे। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङनै तेमाल पुगेर विद्युतीय गाउँको घोषणा गरिन्। यसको प्रयोग बढाउन कल्पनाले गरेको मेहनत सजिलो थिएन। उता गाउँको बिजुलीको संरचना भने बलियो थिएन। ट्रान्सफर्मरको अवस्था पनि उस्तै। अनेक प्रयास गरेर वितरण लाइन र ट्रान्सफर्मरको क्षमता वृद्धि गरियो। 

कूल ५० केभीए क्षमताको ट्रान्सफर्मर फेरेर १०० केभीएको राखियो। त्यो ट्रान्सफर्मरले के कति चुलो बाल्न सकिन्छ भनेर अध्ययन पनि गरियो। दाउरा र ग्यासमा खाना पकाउने गाउँलेले झट्ट इन्डक्सन चुलोको प्रयोग गर्न मानेका थिएनन्। गाउँटोलटोलमै पुगेर सार्वजनिक कार्यक्रम आयोजना गरी सिकाएपछि बल्ल सबैले पत्याएको सुनाउँछिन् कल्पना। अहिले दाउरा खोज्न जङ्गल जानुपर्ने बाध्यता हटेको छ। गाई वस्तुलाई कुँडो पकाउने दाउरा काट्न कसैलाई हतारो छैन। त्यसमाथि छिट्टै खाना पाक्ने भएकाले समयको बचतसमेत भएको छ। वातावरणको संरक्षणसँगै मानवीय स्वास्थ्यमा समेत सकारात्मक प्रभाव परेको कल्पनाको अनुभव छ।

विद्युतीय चुलोका लागि अजम्बरी फाउण्डेनले अनुदानसमेत उपलब्ध गराएको छ। प्रतिचुलो रु. दुई हजार बराबरको अनुदान पाउने व्यवस्था गरिएको छ। यस्तै, छ महिनासम्मको विद्युत् महसुलसमेत सोही संस्थाले तिरिदिन्छ। पाँच लिटर बराबरको कुकर र ताप्केसमेत उपलब्ध हुन्छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×