काठमाडौँ - मोरक्को फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ। अल थुमामा रंगशालमा शनिबार राति सम्पन्न क्वार्टफाइनल खेलमा युरोपिन राष्ट्र पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको हो।
यसअघि अफ्रिकी देश ३ पटक क्वार्टरफाइनलबाटै बाहिरिएका थिए। सन् १९९० को विश्वकपमा क्यामरून, सन् २००२ मा सेनेगल र सन् २०१० मा घाना क्वार्टरफाइनलबाट बाहिरिएका थिए।
मोरक्कोलाई पहिलोपटक सेमिफाइनलमा पुर्याउन युसुफ एन-नेसरीले ४२औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। याह्या अटियाटको पासमा नेसरीले हेडमार्फत् गोल गरेका थिए। योसँगै उनी जारी कतार विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनले यस प्रतियोगितामा ३ गोल गरेका छन्।
पोर्चुगलले खेलको ५१औँ मिनेटमा राफेल गुरेरोको स्थानमा क्रिस्टियानो रोनाल्डोलाई मैदान उतारेको थियो। रोनाल्डो मैदान छिरेपछि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानको बराबरी गरेका छन्। उनले कुवेतका बादर अल मुतावाको कीर्तिमान बराबरी गरेका हुन्। यो रोनाल्डोको १९६औँ अन्तर्राष्ट्रिय खेल हो। यद्यपि, उनले गोल गर्न भने सकेनन्।
दोस्रो हाफको अतिरिक्त समयको तेस्रो मिनेट चलिरहँदा मोरक्को १० खेलाडीमा समेटिएको थियो। वालिद चेडिराले रातो कार्ड पाएका थिए। तर, पोर्चुगलले १० खेलाडीमा सीमित मोरक्कोको रक्षापंक्ति तोड्न नसक्दा विश्वकपबाट बाहिरिएको छ।
अब सेमिफाइनलमा मोरक्कोले केहीबेरमा हुने फ्रान्स र इङ्ल्यान्डबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ। यसअघि अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा पुगिसकेका छन्। अब सेमिफाइनलमा दक्षिण अमेरिका र अफ्रिकाबाट १-१ राष्ट्र तथा युरोपबाट २ राष्ट्र हुने निश्चित भएको छ।