काठमाडौँ - अस्ट्रेलियामा जारी आइसिसी टी-२० विश्वकपमा आज एक खेल हुनेछ। आज न्यूजिल्याण्ड र श्रीलंका खेल्दै छन्। यी २ टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ देखि सिड्नीमा सुरु हुनेछ।
न्यूजिल्याण्ड जारी विश्वकपमा दोस्रो जित निकाल्न चाहन्छ। उसले पहिलो खेलमा आयोजक अस्ट्रेलियालाई ८९ रनले हराएको थियो। दोस्रो खेलमा भने न्यूजिल्याण्डले वर्षाका कारण अफगानिस्तानसँग अंक बाँडेको थियो। श्रीलंकाले पहिलो खेलमा आयरल्याण्डलाई ९ विकेटले हराएको थियो। दोस्रो खेलमा भने ऊ अस्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो।
श्रीलंका न्यूजिल्याण्डलाई हराउँदै लयमा फर्कन चाहन्छ। न्यूजिल्याण्ड भने आफ्नो लय कायमै राख्ने सोचमा छ। जारी विश्वकपमा श्रीलंकन टोलीको कप्तानी अलराउन्डर दासुन शानाकाले गरिरहेका छन्। गत संस्करण उपविजेता न्यूजिल्याण्डको नेतृत्व भने केन विलियम्सनले नै गरिरहेका छन्।