काठमाडौँ - दिल्ली प्रहरीले नक्कली परिचयसहित नेपालमा बसेको र भारत विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा एक चिनियाँ महिलालाई पक्राउ गरेको दाबी गरेको छ। समाचार एजेन्सी पीटीआईले दिल्ली प्रहरीलाई उद्धृत गर्दै उक्त महिलाको नाम काई रुओ हो र उनी चीनको हेनान प्रान्तकी भएको जानकारी दिएको छ।
प्रहरीका अनुसार भारतमा नेपाली नागरिक भनेर बस्दै आएका यी महिलालाई उत्तरी दिल्लीको मजनुका टिला क्षेत्रबाट पक्राउ गरिएको हो। परीक्षणका क्रममा महिलाको साथबाट डोल्मा लामा नाम लेखिएको नेपाली नागरिकताको प्रमाणपत्र फेला परेको प्रहरीले जनाएको छ।
तर, यसबारे विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालयलाई सोध्दा ती महिला चीनकी नागरिक हुन् र सन् २०१९ मा भारत आएकी थिइन् भन्ने तथ्य फेला परेको छ।