मोरङ - विराटनगर महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त अभियान सञ्चालन गरेको छ। विभिन्न मन्दिर र सार्वजनिकस्थलमा बसेर मागेर खानेलाई महानगर प्रहरीले उद्धार गर्ने अभियान सुरु गरेको हो।
महानगरले सडक मानवमुक्त अभियान सञ्चालनमा बढी जोड दिएको प्रमुख नागेश कोइरालाले बताए। उनका अनुसार काम गरेर खान सक्ने अवस्थाका व्यक्तिहरू पनि माग्न बस्ने गरेका छन्। अशक्त र सहाराविहीनलाई विराटनगरस्थित मानव सेवा आश्रमको जिम्मा लगाइएको छ। “परिश्रम गरेर पनि खान सक्ने व्यक्ति मागेर खाने गरेको देखियो। यो समाजका लागि ठीक होइन। गर्न सक्नेले काम गरेर खानु पर्यो”, प्रमुख कोइरालाले भने।
यसैबीच महानगरले फुटपाथ खाली गर्ने अभियानलाई तीव्रता दिएको छ। नाली नै जाम हुने गरी निर्माण सामग्री राख्दा डुबानको समस्या निम्तिने गरेको छ। त्यस्तै छाडा चौपायालाई नियन्त्रणमा लिन पनि महानगर अग्रसर भएको छ। खसी, बाख्रा, गाई र भैँसी नियन्त्रणमा लिएर जरिवाना तिराएर सम्बन्धित पशुधनीलाई बुझाइएको महानगरले जनाएको छ।