काठमाडौँ - अञ्जली विश्वकर्माको ३३ रनप्रेरित नेपाली युवा महिला टोलीले आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा मलेसियालाई २५ रनले हराएको छ।
मलेसियामै जारी एसिया छनोटमा नेपालले आज बांगीस्थित यूकेएम–वाईएसडी क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८६ रन बनायो। ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो।
जितसँगै छनोटमा नेपालको सुखद अन्त्य भएको छ। नेपाल तेस्रो स्थानमा रहेको छ। नेपालले पाँचमध्ये तीन खेल जितेको हो। नेपालले पाँच खेलमा ६ अंक जोडेको छ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। दोस्रो खेलमा आठ रनमा अलआउट भएपछि नेपाल यूएईसँग १० विकेटले पराजित भएको थियो। तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो। चौथो खेलमा थाइल्यान्डसँग ४९ रनले हारेको थियो। मलेसिया पाँच खेलबाट ४ अंक जोडेर चौथो स्थानमा रहेको छ।
आज नेपालविरुद्ध मलेसियाकी एलिसा हन्टरले सबैभन्दा धेरै २८ रन जोडिन्। अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।नेपालकी कप्तान कृतिका मरासिनीले २ र मनीषाकुमारी उपाध्यायले १ विकेट लिए।
त्यसअघि, नेपालका लागि अन्जलीले ३३ रन बनाइन्। अञ्जलीले ५४ बलमा दुई चौका प्रहार गरेकी थिइन्। अश्मा पुलामीमगरले ३८ बलमा एक चौकासहित २६ रन जोडिन्। सृष्टि जैशी, सानु राजवंशी र अनु कठायतले समान तीन रन बनाए। कप्तान कृतिका १ रन बनाएर पवेलियन फर्किएकी थिइन्।
मलेसियाकी नुर सामेदले २ विकेट लिइन्। एलसा हन्टरले १ विकेट लिइन्।