काठमाडौँ - दुई एक्सन स्टार निखिल उप्रेती र रमेश उप्रेतीले अठार वर्षपछि एक नयाँ फिल्ममा सहकार्य गर्ने भएका छन्। दशैंपछि छायांकन सुरु हुने फिल्मलाई दुबैजनाले मिलेर निर्माण गर्न लागेका हुन्।
फिल्मको नाम भने जुरेको छैन। यो अनटाइटल फिल्मलाई निखिलले निर्देशन गर्ने तय भएको छ। ‘हामी दुबैजना मिलेर फिल्म बनाउने टुंगो लागेको छ’ अभिनेता उप्रेतीले भने, ‘दुईजना मिलेर नयाँ स्टाइलले फिल्म बनाउनुपर्ने आवश्यकता देखियो।’ फिल्ममा लेखन तथा निर्देशन निखिलकै रहेनछ। दुबैजनाको प्रमुख भूमिका हुनेछ। तर,नायिका लगायतका अन्य पात्रबारे निधो भैसकेको छैन। ‘सँधैभरि एउटै खालको फिल्म बनाएर पनि हुँदैन’ उप्रेतीले भने, ‘अहिलेका दर्शकलाई रुच्ने खालको नयाँ फिल्म बन्नेछ।’
उप्रेतीले अहिले प्रि-प्रोडक्सनमा काम भैरहेको जानकारी दिए। यसअघि दुई अभिनेताले सन् २००४ मा रिलिज भएको ‘मायाको जाल’मा सँगै काम गरेका थिए। उनले अहिले स्क्रिप्टलाई पूर्णता दिनेतर्फ काम गरिरहेको जानकारी दिए।
पछिल्लो समय रमेश र निखिल दुबैले यो प्रोजेक्टका लागि काम गरिरहेका छन्। रमेशले पछिल्लो पटक सन् २०१७ मा ‘ऐश्वर्या’मा काम गरेका थिए। निखिलले पछिल्लो पटक सन् २०१९ को फिल्म ‘भिलेन’मा अभिनय गरेका थिए।