काठमाडौँ - बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘कौसिद’ को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र आगामी पुस १५ गतेबाट देशभर प्रदर्शनमा आउने छ।
अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको चलचित्रलाई कुमार भास्करले निर्देशन गरेका हुन्। चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र ‘कौसिद’का निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह-निर्मातामा लक्ष्मण बानियाँ रहेका छन्।
चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको पटकथा रहेको छ। निसल पौडेलले खिचेको चलचित्रलाई मित्र डि. गुरुङ र भीम विश्वकर्माले सम्पादन गरेका हुन्। केही समय अघि नै प्रदर्शन मिति तोकिएको चलचित्र विविध प्राविधिक कारणले रिलिज पछि सारिएको थियो।