कुलमान लक्षित प्रचण्डको टिप्पणी गुन बिर्सिए, बैगुनी भएर हिँडे

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी प्रतिक्रियावादी शक्तिहरूले सामाजिक सञ्जालमार्फत देशविरुद्ध होहल्ला मच्चाइरहेको आरोप लगाएका छन्। केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले फेसबुक, एक्सजस्ता सामाजिक सञ्जालमा फैलाइएका प्रचारका कारण नेपाल नै कब्जा भइसकेको जस्तो भ्रम सिर्जना गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। सोही क्रममा उनले ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङप्रति लक्षित टिप्पणी गर्दै पार्टी र जनताले दिएको योगदानको गुन बिर्सिएको आरोप लगाए। “विदेशी प्रतिक्रियावादी शक्तिहरूको होहल्लामा रमाएर पार्टी र जनताले लगाएको गुन बिर्सी मानिसहरू बैगुनी भएर हिँडिरहेका छन्,” प्रचण्डले भने। प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वको सरकारका बेला दुई पटक नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख बनेका घिसिङ पछिल्लो केपी शर्मा ओली सरकारद्वारा पदबाट हटाइएका थिए, जसको विरोध तत्कालीन विपक्षी नेकपा माओवादीले संसद्मा गरेको थियो। आगामी निर्वाचनमा सहयोग वा चुनावी तालमेलको अपेक्षाबीच प्रचण्डले यसअघि पनि घिसिङको कार्यशैलीप्रति सार्वजनिक रूपमा आलोचना गर्दै आएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×